
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ ले वडाको शिक्षा क्षेत्रको बिकासका लागि सरोकारवालासंग समन्वय सहकार्यलाई बढाएको छ ।
वडाभित्र प्राबिधिक शिक्षा लगायतका शिक्षा अध्ययन गर्न चाहने तर आर्थिक अभावका कारण पढन् नसक्ने बिद्यार्थीहरुलाई अवसर प्रदान गर्नका लागि वडाले सरोकारवालासंग समन्वय सहकार्यलाई बढाएको हो ।
आफ्नो वडामा रहेका त्यस्ता बिपन्न बिद्यार्थीहरुको हितमा रहेर उच्च शिक्षा वा प्राबिधिक शिक्षा अध्ययन गर्ने अवसर सृजना गर्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि स्थानीय सरकारको रहने भएकाले पनि वडाले यसको नेतृत्व गर्न थालेको छ ।
आर्थिक अवस्थाकै कारण बिद्यालयसम्म जान नसकने परिवारलाई शिक्षा आर्जन गर्ने स्थलसम्म जाने वातावरण तयार गर्न नै वडाले यस खालको अवधारणा शुरु गरेको वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।
बिपन्न बिद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप कोष स्थापनाका लागि वडा कार्यालयले यो योजना अगाडी बढाएको हो । यसका लागि कोष कस्तो बनाउने र कसरी परिचाल गर्ने भन्ने बारेमा बुधबार वडा कार्यालयले सामाजिक विकास मञ्च (एसडिएफ) को सहयोगमा वडा भित्र रहेका अगुवा निजी व्यवसायी, सामाजिक व्यक्तित्व तथा संघ संस्थाहरुसँग समन्वयात्मक बैठक गरेको छ ।
वडाले गर्न लागेको कार्य बाँकेमा मात्र नभई नेपालकै स्थानीय तहका वडाहरुमा गरिएको नयाँ प्रयास हो । वडाभित्रको साझा समस्यालाई सामुहिक भावना र सहकार्यमा समाधान गर्ने पवित्र उद्देश्य राखेर योजना अगाडी सारिएको वडा अध्यक्ष बज्राचाले बताउनुभयो । कोष संचालनका लागि निजी क्षेत्रसँगको साझेदारीसँगै नगरपालिका, प्रदेश र संघीय सरकारसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो ।
आर्थिक विपन्नता कारण विचैमा विद्यालय छोडेका र छोड्ने सम्भावना भएका बालबालिकाहरुमा प्राविधिक शिक्षाको पँहुच बढाउने शैक्षिक छात्रवृत्ति कोषलाई दिर्घकालिन रुपमा संचालन गर्ने योजना रहेको अध्यक्ष बज्राचार्यले बताउनुभयो । यसका लागि वडाले प्रारम्भिक रुपमा कार्यबिधि समेत बनाएको छ ।
प्रारम्भिक रुपमा बनाइएको कार्यविधिमा डिप्लोमा (तिन वर्ष) मेडिकल तर्फ स्टाफ नर्स, फारमेसी, नर्सिङ, ईलेक्ट्रोनिक, सिभिल इन्जिनियरिङ, डेन्टल, फेशन डिजाईनर, होटल व्यवस्थापन, ओभरसियर, कम्प्युटर विज्ञान र १८ महिने प्रिडिप्लोमा अन्तर्गत सिभिल, अटोमोबाईल, कम्प्युटर अप्लिकेशन र सेक्रेटरियल म्यानेजमेन्ट, ईलेक्ट्रिकल, मेकानिकल, रेफ्रिजेरेशन र एसी इन्जिनियरिङ जस्ता विषयहरु पढाउन सकिने प्रस्ताव गरिएको छ ।
छलफलबाट अक्षयकोष संचालनका लागि कार्यविधि मस्यौदा समिति गठन गरिएकोे छ । बाँकी कामहरु अब तिव्र गतिमा अगाडी बढाउने तयारी रहेको वडा कार्यालयले जनाएको छ । सामाजिक विकास मंचले सहजीकरण गरेको बैठकमा करिब २ करोड रुपैयाँ सम्मको कोष निर्माण गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष बज्राचार्यले बताउनुभयो ।





