
मानपुर । सामुदायिक विद्यालयका १ देखि ३ कक्षासम्म अध्ययनरत बालबालिकाहरुको पठ्न सीप विकास तथा पठ्न कार्यमा प्रेरित गर्ने उदेश्यले बाँकेको जानकी गाउँपालिकामा पढाई मेला कार्यक्रम संचालन गरिएको छ ।
सामुदायिक विद्यालय, गुम्बा, गुरुकुल र मदरसाको १ देखि ३ कक्षासम्म अध्ययनरत बालबालिकाहरुको स्तरवृद्धिका लागि शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा एक दिने पढाई मेला कार्यक्रमको सञ्चालन गरिएको हो । गाउँपालिका अध्यक्ष छब्बन खाँले पढाई मेला कार्यक्रमको उद्घाटन गर्दै १ देखि ३ कक्षासम्मका बालबालिकाको पठ्न सीपको बिकासका लागि शाखाले यस खालको कार्यक्रम गरेको बताउनुभयो ।
शिक्षाको गुणस्तर बृद्धिका लागि पालिकाले आवश्यक भएका स्थानहरुमा कार्यक्रम संचालन गर्न सदैव तयार रहेको बताउनुभयो । पढाई मेलामा बिद्यार्थीहरुको क्षमता जाँचले अध्ययनतर्फ पे्ररित गर्ने अध्यक्ष खाँले दाबी गर्नुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बालबालिकाको पढाई सीप बढाउन बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा शाखा अधिकृत कृष्णा कुमारी भण्डारीले १ देखि ३ सम्मका बालबालिकाको पढाई सीप कमजोर भएका कारण नेपाल सरकारले प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरेको स्पष्ट पार्नुभयो । पढाईको जग बलियो बनाउन शुरुका कक्षामै बढी मिहिनेत र परिश्रम गर्नुपर्छ, भण्डारीले भन्नुभयो, पढाइ मेलाले विद्यार्थी र शिक्षक दुबैमा उत्साह थप्नेछ ।’
पढाई मेलामा १ कक्षातर्फका नेरा प्रावि करमोहनाका विद्यार्थी राधिका जरवट प्रथम, नेरा प्रावि इन्द्रपुरका सुमित गडरिया द्वितीय र जनता प्रावि बनकटवाकी प्रिया वर्मा तृतीय स्थान प्राप्त गर्नुभएको छ । २ कक्षातर्फ नेरा प्रावि इन्द्रगाउँकी रोशनी सोनी प्रथम, नेरा मावि भाटनपुरका अरुन खटिक द्वितीय र नेरा प्रावि कपसीका सत्य प्रकाश मिश्राले तृतीय स्थान प्राप्त गर्न सफल हुनुभयो ।
यस्तै ३ कक्षातर्फ मदरसा दारुल उलूम मसुदिया गरिबनवाज इन्द्रपुरकी साफिया शेष प्रथम, नेरा प्रावि पचपोखराकी आयसा प्रविन अन्सारी र मावि शिवपुरीका सुरज काँदु द्वितिय र मदरसा तालिमुल कुरान बन्जारेगाउँकी रुखसार नाउँले तृतीय स्थान हासिल गर्नुभयो । यसै अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो ।
शैक्षिक मेलाबाट विद्यार्थीहरु उत्साहित भएको र उनीहरुको पढाईप्रति रुचि बृद्धि हुने सामाजिक विकास संयोजक राम अचल धोबीले बिश्वास व्यक्त गर्नुभयो । जानकीमा २४ वटा सामुदायिक विद्यालय, १५ वटा मदरसा र १ वटा गुरुकुलमध्ये मेलामा २१ सामुदायिक र ९ मदरसा गरी ३० वटा विद्यालयले सहभागिता जनाएका थिए ।





