स्ववियु चुनाव चैत्र १४ गर्न संगठनहरुको सुझाव

काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले स्ववियु चुनाव चैत १४ गतेभित्र जसरी पनि सम्पन्न गराउन विद्यार्थी कल्याण परिषदलाई सुझाव दिएको छ ।

सोमबार स्ववियु निवार्चनको विषयमा विद्यार्थी कल्याणले विभिन्न विद्यार्थी संगठनहरुको सुझाव लिएको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीको अनुसार आज विभिन्न २० विद्यार्थी संगठनका अध्यक्षहरुसँग सुझाव लिईएको छ ।

छलफलमा विद्यार्थी संगठनहरुले सक्दो निर्धारित मितिमा नै निर्वाचन गर्न र यदि उक्त मितिमा नसकिएको खण्डमा चैत १४ गते भित्र जसरी पनि गर्न सुझाव दिएको बताउनुभयो ।

अधिकारीले भन्नुभयो ‘विद्यार्थीहरुको सुझाव सक्दो निर्धारित समय अर्थात फागुन १४ गते गर्नु भन्ने छ यदि उक्त मितिमा नसके फागुन २८ अथवा चैत १४ गतेभित्र गर्दा हुन्छ भन्ने सुझाव छ ।’

विद्यार्थी कल्याणले विद्यार्थीको सुझावको आधारमा विद्यार्थी कल्याण परिषद्लाई सिफारिस गर्ने र सोही अनुसार परिषदले कार्यकारी परिषद्लाई सिफारिस गरेपछि कार्यकारी परिषद्ले निर्वाचनको मिति तय गर्नेछ । परिषद्मा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।

गत बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा सबै डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा नियन्त्रकहरु सहितको बैठकमा डीनहरुले फागुन २८ मा गर्न सुझाव दिएका थिए ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख तथा विद्यार्थी कल्याण परिषदका सदस्य सचिव रहेका पशुपति अधिकारीले यहि हप्ताभित्र परिषदको बैठक बसेर निर्वाचन मिति सिफारिस गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘डीनहरु र विद्यार्थी संगठनको सुझावको अनुसारमा एउटा मिति तय गर्न यहि हप्ताभित्र परिषदको बैठक राख्छौं र त्यहि अनुसार कार्यकारी परिषदलाई सिफारिस गर्छौं ।’

विद्यार्थीहरुको पढाई, भर्ना, परीक्षा लगायतलाई प्रभावित नगर्ने हिसाबले फागुन २८ मा निर्वाचन गर्ने त्रिविले तयारी गरिरहेको छ ।

त्रिविको कार्यतालिका अनुसार प्रत्येक दुई वर्षमा फागुन १४ चुनाव गर्नुपर्ने नभए चैत १४ भित्र गरिसक्नुपर्ने उल्लेख गरिएको छ । २०६५ सालदेखि स्ववियु चुनाव नियमित हुन सकेको छैन ।

Previous articleनेपालगन्जका उद्योगी, ब्यवसायी दोस्रो चरणमा आन्दोलित
Next articleपासपोर्ट र लाइसेन्स लिन लाइन लाग्न नपर्ने : मन्त्रिपरिषदको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here