
नेपालगञ्ज । सबैको संयुक्त प्रयास र आवश्यक मापदण्ड अनुसार गरिने व्यवहारले समाजलाई सरसफाईयुक्त बनाउन सकिने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
नेपालगञ्जमा संचालन तीन दिने तालिमको बिहीबार समापनका क्रममा बोल्ने वक्ताहरुले सरसफाई नभई नहुने भएकाले सबैको संयुक्त प्रयासले नै समाजलाई सफा तथा संक्रमणमुक्त बनाउन सकिने कुरामा जोड दिएका हुन ।
समापनमा बोल्दै नेपालगञ्ज उपमहागनरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपद्का बेला सबैभन्दा ठूलो चुनौती सरसफाईकै हुने भएकाले विपदमा गुणस्तरीय खानेपानी तथा सरसफाईमा ध्यान नदिँदा महामारी नै निम्तिन सक्ने जोखिम बढ्ने बताउनुभयो ।
उहाँले सामान्य अवस्थामा पनि परिवार तथा समाजलाई संक्रमणमुक्त बनाउन चाहने हो भने सरसफाई कार्यमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सहभागीका तर्फबाट बोल्दै कार्यपालिका सदस्य बसन्त कनौजियाले विपदको समयमा मात्र नभई व्यक्तिगत जीवनमा समेत गुणस्तरीय खानेपानी र सरसफाईको महत्वबारे सैद्धान्तिकसंगै प्रयोगात्मक बोध भएको बताउनुभयो ।
युनिसेफका प्रतिनिधि शंकर पौडेलले तालिम फलदायी भएको विश्वास व्यक्त गर्दै सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तालिममा वातावरण इन्जिनियर प्रकाश डिसी, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसी, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पनि सहजीकरण गर्नुभएको थियो ।
समापनमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थिति रहेको थियो ।
वासका क्षेत्रमा लामो समयदेखि काम गरिरहेको रुकुमेली समाज विकास केन्द्र पहिलोपटक नेपालगञ्जमा आएर तालिममा प्राविधिक सहयोग गरेको हो ।
युनिसेफको सहयोग, रुकुमेली समाज विकास केन्द्रको प्राविधिक सहयोग एवम् नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको खानेपानी, सरसफाई तथा स्वच्छता (वास( सम्बन्धि तीन दिने तालिममा विपद्को समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा छलफल तथा विमर्श गरेर सहभागीकै बीचमा मन्थन गराई कार्ययोजना समेत ड्राफ्ट गरिएको छ ।
विपद्को समयमा खानेपानी, सरसफाई र स्वच्छतामा क्षमता विकास गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो । विपतका समयमा गुणस्तरीय खानेपानी कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा रुकुमेली समाज विकास केन्द्रकी वास परामर्शदाता शोभा राना मगरले तालिममा सहजीकरण गर्नुभएको थियो ।
तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।





