शक्ति समूहद्धारा एक वर्षमा १५८ जनाको पारिवारिक पुनर्मिलन

नेपालगञ्ज । शक्ति समूहद्धारा संचालित परियोजनाबारे नेपालगञ्ज नगरपालिकास्तरीय परियोजना सल्लाहकार समितिसंग समिक्षा गरिएको छ । नेपालगञ्जका नगर उप्रमुखको उपस्थितिमा सरोकारवालाबीच समिक्षा गरिएको हो ।

समिक्षामा परियोजनाले संचालन गरेको कार्यक्रमको लक्ष्य र सो अनुसार प्राप्त उपब्धीबारेमा प्रष्ट पारेको थियो । समूहले एक वर्षमा १६७ जनालाई सेवा दिएको र जसमध्ये १५८ जनालाई परिवारसंग पुनर्मिलन गराइएको छ भने अझै ९ जना सेल्टर सेवा लिईरहेका छन् ।

यस उपमहानगरपालिकाका पाँच वटा बिद्यालयमा शैक्षिक सहयोग, कम्प्यूटर सहयोग, बिद्यालय छोडेकाहरुलाई पुन बिद्यालय भर्ना, कानूनी विवादमा परेका बालिकाहरुलाई छुट्टै राख्न जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा दुई कोठे भवन निर्माण गरेको शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिनुभयो ।

समिक्षामा बोल्दै नगरउपप्रमुख कमरुद्दिन राईले उत्कृष्ट कार्य गर्दै आएकाले यसको निरन्तरताका लागि आग्रह गर्नुभयो । उहाँले पिडितमैत्री बन्न तथा सहयोगका लागि उपमहानगरपालिका सदैव तयार रहने पनि बताउनुभयो ।

बैठकमा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाह, सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, महिला बालबालिका शाखाकी अधिकृत आशा शाही, नेपालगञ्जका प्रेस सल्लाहकार नविन गिरी लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा १ जनवरी २०२२ देखि दिसेम्बर २०२२ सम्मको लक्ष्यअनुसार कार्यहरुको समिक्षा गरिएको थियो । शक्ति समूह बेचबिखनबाट प्रभावित महिलाहरुको शक्तिको संगठनका रुपमा २०५४ सालमा स्थापना भएको संस्था हो ।

Previous articleनरैनापुर क्षेत्रमा नहर निर्माणको बाटो खुल्यो
Next articleनेपालगञ्ज इलेक्ट्रोनिक्स एशाेसिएसनले निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here