
नेपालगञ्ज । कोरोनाका लहरका कारण लामोसमयदेखि नेपालगञ्जमा संचालन हुन नसेको पर्यटन तथा व्यापार मेला हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रालि बाँकेको संयुक्त आयोजनामा माघ १० गते देखि २४ गतेसम्म प्रादेशस्तरीय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव नेपालगञ्जमा हुने भएको छ ।
सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा उक्त पर्यटन महोत्सव संचालन हुने घरेलु महासंघकी अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिनुभयो ।
‘समृद नेपालको प्रमुख आधार उद्यमी व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार’ लाई स्लोगन बनाएर मेलाको आयोजना गर्न लागिएको छ,’ अध्यक्ष खड्काले भन्नुभयो, ‘विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको हो ।’
महोत्सवको मुख्य आर्कषण यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ । महोत्सवमा साधारणलाई ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैँया टिकट राखिएको छ ।
थारु होमस्टे, थारु गाउँ, टिकटक प्वाइन्ट जस्ता कुराहरु सहित महोत्सवमा ३०० बढि स्टल रहने तयारी छ । यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने छ १४ दिने महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटनको दिन धम्बोझी देखि कार्यक्रम स्थलसम्म भव्य झाकी निकालिनेछ । १२ जिल्लाका उद्यमीहरुको उत्पादन तथा स्थानीय बस्तुलाई प्रथामिकता दिईने आयोजक संस्था सिवालय सेक्युरिटिका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिनुभयो ।





