पूर्ण हात धुने अभियानकाे प्रगति अनुगमन

ठाकुरबाबा, बर्दिया
ठाकुरबाबा नगरस्तरीय अनुगमन समितिले वडा स्तरीय वास समन्वय समितिको अनुरोधमा पूर्ण हात धुने अभियान सञ्चालित वडाहरुमध्ये वडा नं. ४ मा अनुगमन गरेको छ ।

नगर प्रमुख, उपप्रमुख, वडा नंं ४ का अध्यक्ष, पालिकाका वातावरण, स्वास्थ्य र सरसफाइ शाखाका संयोजक, स्थानीय उद्योग व्यापार संघका अध्यक्ष, भुरीगाउँ खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष, गेरुवा ग्रामीण जागरण संघका कर्मचारीहरु र सञ्चारकर्मीसहितको टोलीले वडा नं. ४ का खैलार, अछामी टोल, बरगडा, बडघरटोल, बाहुनपुर, मैनवार र सैनवारका हरेक घरमा टुटीसहितको हातधुने राखे नराखेको र प्रयोग गरे/ नगरेको अनुगमन गरेको हो ।

अनुगमन पश्चात अनुगमनमा संलग्नहरुबीच भएको छलफलबाट हालसम्म करिब ९० प्रतिशत घरहरुमा हात धुने स्थान बनेको र ८० प्रतिशत जतिले प्रयोगमा ल्याएको निश्कर्ष निस्केको थियो । सो छलफलमा वडा अध्यक्ष श्री अमिन थारुले हात धुने स्थान नबनाएका घरहरुलाई लक्षित गरी पुनः वडा र टोल टोलमा बैठक गरी ७ दिन भित्र बनाउन लगाउने भनि राख्नु भएको प्रस्ताव पारित भएको छ । बैठकमा वडा अध्यक्ष थारुले वडाको लक्ष्यअनुरुप यही २०७९ माघ भित्र वडा नं. ४ लाई पूर्ण हात धुने वडा घोषणा गरिने बताउनुभयो ।

उक्त छलफलमा सबै स्वयंसेविका, बडघर, टोल विकास संस्था र सामुदायिक अभियानकर्ताहरु परिचालन गरी हात धुने स्थान बनाएका र नबनाएकाहरुको तथ्याङ्क अद्यावधिक गर्नु पर्ने र आवश्यकता अनुसार झिल्को पार्ने सत्र (ट्रिगरिङ टुल) हरु सञ्चालन गर्न ढिला गर्न नहुने कुरा गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले बताउनु भयो ।

अनुगमनमा सहभागी ठाकुरबाबा नगरपालिका उप प्रमुख बिना भट्टराईले छोटो अवधिमा राम्रो प्रगति भएको औल्याउँदै अझै नयाँ जोस र जाँगरका साथ कार्य गरिने बताउनुभयो । त्यसैगरी नगर प्रमुख तिलकराम लम्सालले नगरको पूर्ण हात धुने अभियानमा योगदान गर्न पुनः आव्हान गरिने र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउने जानकारी दिनुभयो ।हातको संक्रमणबाट लाग्ने रोगबाट नागरिकलाई बचाउन सञ्चालित यो अभियान अन्तरगत माघदेखि हरेक महिना १-२ वार्डलाई पूर्ण हात धुने वार्ड घोषणा गरी सन् २०२३ जुनभित्र पालिकालाई नै नेपालको पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिने बताउनुभयो ।

अनुगमनका क्रममा धेरै जसो हात धुने स्थान भाँडा सुकाउने अग्लो टाँटीमा राखेको पाइएकोले सोलाई बालबालिकाको पहुँच हुने गरी राख्न र घरका सबै सदस्यले प्रयोग गरेको निश्चिात गर्न सम्बन्धित घरमूलीहरुलाई सल्लाह दिइएको छ ।

सन् २०२३ जून भित्र ठाकुरबाबा नगरपालिकालाई नेपाल कै पहिलो पूर्ण हात धुने नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सञ्चालित यो अभियानमा स्थानीय वडा वास समन्वय समितिहरुको अगुवाइमा सञ्चालित छ । अभियान अन्तरगत ठाकुरबाबा नगरपालिका भित्रका सम्पूुर्ण घरधुरी, संघ संस्था, कार्यालय, विद्यालयले साबुन पानीको उचित ब्यवस्थापन सहितको टुटी जडीत हातधुने स्थान बनाई प्रयोग गरेको हुनु पर्नेछ ।

पालिकाको यो अभियानमा तेर दे जोम्सको सहयोगमा गेरुवा ग्रामीण जागरण संघले नीति निर्माण, सामुदायिक अभियानकर्ताहरुको प्रशिक्षण, तथ्याङ्क व्यवस्थापन, घरदैलो तथा बैठकहरु र विभिन्न झिल्को पार्ने सत्रहरु सञ्चालन गर्न सहयोग उपलब्ध गराइ रहेको छ ।

Previous articleखजुरामा पनि दाउरा बितरण
Next articleमन्टेश्वरी शिक्षाको बिकासका लागि सहयोग गर्ने : प्रदेश सांसद काफ्ले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here