
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका केही वडाहरुमा दादुराका केशहरु देखिएपछि नियन्त्रणका लागि विभिन्न क्रियाकलाप संचालन गरिएको छ ।
२०७९ पुस १४ गते ४ जनामा सक्रमण देखिएपछि नियन्त्रणका लागि चेकजाँच अभियान तथा खाेप लगायतका कार्यक्रम संचालन गरिएको हाे । दादुरा पत्ता लगाउन संचालित अभियानका क्रममा संक्रमित व्यक्तिहरू भेटिने संख्या बढे्काे छ ।
अभियान पश्चात् नेपालगन्जमा हालसम्म ३६ जनामा संक्रमण भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार वडा १ मा १ जना, वडा ५ मा ७ जना, वडा ७ मा १४ जना, वडा ८ मा ४ जना, वडा ९ मा २ जना, वडा १० मा १ जना, वडा ११ मा १ जना, वडा १४ मा ४ जना, वडा १५ मा १ जना र वडा २२ मा १ जनामा संक्रमण भेटिएको छ ।
संक्रमितकाे संख्या बढेसंगै नेपालगन्जमा शुक्रबारदेखि जोखिम देखिएका वडाहरुका ६ महिनादेखि १५ वर्ष उमेर समुहका करिव दस हजार ९ सय ९६ बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाउन शुरू गरिएको छ ।
दादुरा रुवेला राेगका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि बालबालिकाहरुलाई खोप लगाउन सबैले सहयोग गर्न जनस्वास्थ्य निरीक्षक वलीले आग्रह गर्नुभएको छ ।





