नेपालगञ्जमा पहिलो दिन ८७५ जनालाई दादुरा बिरुद्धको खोप प्रदान

नेपालगञ्ज । नेपालगञ्जका केही वडाहरुमा दादुरा देखिएपछि शुरु भएको खोप अभियानको पहिलो दिनमा ८७५ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको छ ।

आज (शुक्रबार) देखि दादुरा प्रभावित वडाहरुमा शुरु गरिएको खोप अभियान पहिलो दिननै । ४४१ बालिका र ४३४ बालकलाई दादुरा विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।

नेपालगञ्जको वडा नं ५, ७ र ८ बाट दादुरा विरुद्धको खोप लगाउन शुरु गरिएको छ । वडा नम्बर ५ मा २९६, ७ मा ५०९ र वडा नम्बर ८ मा ७० जनालाई खोप लगाइएको वलीले बताउनुभये ।

६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाउने लक्ष्य छ । ५, ७, ८, १०, ११, १५ र २२ गरी दादुरा प्रभावित ७ वटा वडाका दश हजार ९९८ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो । चन्दका अनुसार खोप लगाउन आएका अधिकांश बालबालिकाले यसअघि दादुरा विरुद्धको खोप लगाएका छैनन् ।

पुस १४ गते वडा नम्बर ७ का ४ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म नेपालगञ्जका ३६ जनामा दादुरा देखिएको छ । दादुराका कारण अढाई बर्षीय बालकले ज्यान गुमाएका छन् । हाल ३५ जना दादुरा प्रभावित बालबालिका उपचारमा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

Previous articleसुशासनका लागि नागरिक खबरदारी आवश्यक : प्रतिनिधीसभा सदस्य तिवारी
Next articleनेपालको बिजुली किन्न सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here