पत्रकार महासंघ बाँकेले जारी गर्यो १३ बुँदे घोषणा पत्र !

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको शनिबार १३ औं साधारणसभा सम्पन्न भएको छ । पछिल्लो समय पत्रकार र पत्रकारितालाई सभ्य र मर्यादित बनाउन लगायतका बिषयमा साधारणसभामा गहन छलफल समेत गरिएको छ । साधारणसभाले त्यसका लागि घोषणा पत्र समेत जारी गरेको छ ।

१३ औं साधारणसभाद्वारा पारित नेपालगन्ज घोषणापत्र
१. पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप काम गर्न र पत्रकार आचार संहिता पूर्ण रुपमा पालना गरेर उच्च व्यवसायिक अभ्यास गर्न सबै पत्रकारहरुसँग आव्हान गर्दछ ।

२. पत्रकारलाई स्वतन्त्र र भयरहीत वातावरणमा समाचार संकलनको वातावरण बनाउन र पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

३. मोफसलका मिडियालाई संरक्षण गर्न समानुपातिक विज्ञापन उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्दछ ।

४. पत्रिका, रेडियो र टेलिभिजनलाई जस्तै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापनलगायतका सरकारी सेवा सुुविधाको व्यवस्था गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँग माग गर्दछ ।

५. जिल्लाका स्थानीय तहले टेण्डर र सूचना राष्ट्रिय मिडियामा मात्र प्रकाशित गर्दै आएकोमा स्थानीय मिडियालाई पनि अनिवार्य रुपमा त्यस्ता सूचना प्रकाशित गर्ने व्यवस्था गर्नका जोडदार रुपमा माग गर्दछ ।

६. पत्रकारिता पेशालाई समावेशी बनाउन महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यकलगायतलाई सहभागिता बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न तीन तहकै सरकारसँग माग गर्दछ । साथै महिलाले मात्र सञ्चालन गरेका सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनको रकममा थप २५ प्रतिशत रकम दिने भनिए पनि कार्यान्वयन नभएकोमा कार्यान्वयन गर्न नेपाल सरकारसँग साधारणसभा माग गर्दछ ।

७. संघीय, प्रदेश र स्थानीय सरकारले बनाउने सञ्चार नीति र कानुन प्रेस स्वतन्त्रता र मिडियामैत्री बनाउन जोडदार माग गर्दछ ।

८. पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न बाँकेका स्थानीय सरकारसँग जोडदार माग गर्दछ ।

९. पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउन नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणको अभियान सञ्चालन गर्न संयन्त्र बनाएर तत्काल काम गर्न बाँके शाखालाई निर्देशन दिन्छ ।

१०. नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको नाममा सडक र चोक नामाकरण गर्न नेपालगन्ज उपमहानगरपालिकाले प्रतिबद्धता जनाइसकेकाले कार्यान्वयन गर्न स्थानीय सरकारसँग माग गर्दछ ।

११. श्रमजीवी पत्रकारलाई नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन सञ्चार माध्यमसँग माग गर्दछ ।

१२. बाँकेको आर्थिक समृद्धिकाको लागि ८ वटै स्थानीय तहमा भएका आर्थिक, सामाजिक, धार्मिक सहिष्णुता, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न जिल्लामा कार्यरत पत्रकार र सञ्चार माध्यमसँग आग्रह गर्दछ ।

१३. नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभामा प्रमुख अथितिको रुपमा आउनु भएका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, नेजा अध्यक्ष विकासराज न्यौपाने, साधारणसभालाई सफल बनाउन सहयोग गर्ने बाँकेका स्थानीय तह लगायतका सम्पूर्ण दाताहरुप्रति हार्दिक आभार प्रकट गर्दछ ।

Previous articleचीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन
Next articleदादुरा रोकथामका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्ने रणनीति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here