दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाई छ ।

मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा संक्रमण फैलिएको छ । नेपालगञ्जमा ९२ जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको छ ।

सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।

बाँकेलाई दुई वर्ष अघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । तर, गएको १३ गतेदेखि दादुराका बिरामी भेटिएका थिए । दादुरा सर्ने रोग हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार दादुरा संक्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ ।

सरकारले दुई वर्षमुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुवेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ ।

दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ । अझ जनसंख्या धेरै भएका नेपालगञ्ज जस्ता अरु ठूला शहरमा जोखिम उच्च छ । यो चिन्ताको विषय बनेको डा. विवेककुमार लालले बताउनुभयो ।

Previous articleआज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, सार्वजनिक बिदा
Next articleनेपालगन्जका बिद्यालयमा थप दुई दिन बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here