
नेपालगञ्ज । जिल्लामा दादुरा रुवेला बिरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप अभियानलाई थप प्रभावकारी बनाउने गरी अभियान संचालन गरिने भएको हो ।
अभियानका क्रममा मंगलबारसम्म नेपालगञ्जमा २२ हजार बालबालिकालाई दादुरा खोप लगाइसकिएको छ । दादुरा-रुबेला खोप अभियान सञ्चालन गरेको एघारौं दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका २२ हजार १० जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाइएको छ ।
सोमबार मात्रै ४ हजार ४ सय ४० बालबालिकालाई खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताउनुभयो । उहाँका अनुसार आज १६ वटा वडाका १६ स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो ।
मंगलबारदेखि नेपालगञ्ज र खजुराका ४७ खोप केन्द्रबाट दादुरा-रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगञ्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन हुनेछन् ।
श्रेष्ठका अनुसार भोली वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइनेछ । खजुरा गाँउपालिकामा पनि दादुरको लक्षण भएको संकास्पद बच्चाको रगत परीक्षण गर्दा नमुना Positive आएकोले स्वास्थ्य कार्यालय तथा बिश्व स्वास्थ्य संघठन (WHO) को निर्देशन बमोजिम खजुरा गाँउपालिकाका सबै वडाहरुमा उमेर पुगेकाहरुलाई मंगलबारदेखि खोप लगाउन शुरु हुने फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
यहाँका २३ वडा मध्ये बाँकी ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई समेत वडाका स्वास्थ्यकर्मीमार्फत खोज र खोप अभियानु सञ्चालनमार्फत दादुरा रुबेला विरुद्धको खोप सेवा प्रदान गरिनेछ । वडा नम्बर १, ४, ५, ७, ८, १४ र १५ मा खोप प्रगति ९५ प्रतिशत माथि पुगेको छ ।
पुस १२ गतेदेखि देखिएको दादुराबाट नेपालगञ्जमा हालसम्म १८९ बालबालिका संक्रमित भइसकेका छन् भने यी मध्ये १ सय ३९ जना निको भएका छन् । ४९ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भइसकेको छ ।





