
काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो ।
उहाँले गृह मन्त्रालयले छानबिनको काम आज नै अघि बढाउने पनि बताउनुभयो । आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाउनुभएको थियो ।
उहाँको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । उहाँले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताउनुभएको थियो । सरकारले सोही विषयमा छानबिन गर्न लागेको हो ।
गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उहाँले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।





