
धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् ।
आइतबार राति हिरासत तोडेर उनीहरू फरार भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्तमध्ये २ जनालाई हातहतियार, २ जनालाई लागुऔषध र २ जनालाई राष्ट्रसेवक बाधा मुद्दा लागेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।
फरार हुनेहरूमा रोशन महतो, शंकर सिंह हातहतियार, विनोदकुमार शर्मा, अमित मण्डल लागुऔषध र रोशन यादव, हरिदीप सिंह राष्ट्र सेवक बाधा मुद्दाका अभियुक्त हुन् ।
फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएका कारण फोडेर अभियुक्तहरू भाग्न सफल भएको धनुषा प्रहरीको भनाइ छ ।





