
नेपालगन्ज । बाँकेका पत्रकार नरेन्द्र थापा र राकेशकुमार मिश्रलाई मातृशोक परेको छ । नेपाल प्रेस युनियन बाँकेका सल्लाहकार समेत रहनुभएका थापाकी ममतामयी आमा सावित्रीदेवी थापाको ८० वर्षको उमेरमा सोमबार बिहान ११ बजेतिर भेरी अस्पतालमा असामयिक निधन भएको हो ।
परिवारका अनुसार उहाँ केही समयदेखी फोक्सो सम्बन्धि रोगको उपचार गराइरहनुभएको थियो। थापाको सोमबार दिउँसो बाँकेको कम्दीस्थित राप्ती नदीको सिधनियाघाटमा धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिएको छ ।
यस्तै अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहनुभका युनियनका केन्द्रीय पार्षद मिश्रका ममतामयी आमा राजेश्वरी मिश्रको ७१ वर्षको उमेरमा असामयिक निधन भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–४ निवासी उहाँको सोमबार बेलुकी घरमा निधन भएको हो ।
परिवारका अनुसार नसा सम्बन्धी समस्याका कारण उहाँ केही वर्षदेखी उपचार गराउँदै आउनुभएको थियो । स्वर्गीय मिश्रको धार्मिक विधिपूर्वक मंगलबार अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।
यस दुःखद घडीमा प्रेस युनियन बाँकेले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । युनियन बाँकेका सचिव विजय मल्लले छुट्टाछुट्टै शोक वक्तब्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ बाँकेले समेत यस दुःखद घडीमा स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । साथै दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ ।





