
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सामाजिक सेवाभावमा अग्रसरता बढाएको छ । सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको कांग्रेस बाँकेले राष्ट्रिय सहिद दिवसको अवसरमा वीर सहिदहरुको सम्झना गर्दै आज नेपालगञ्ज-१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ ।
मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई विहानको खाना खुवाइएको हो । त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पूण्य काम प्रशंसनीय भएको बताउनुभयाे ।
उहाँले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले संचालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा नि:शुल्क उपचारसंगै औषधिको व्यवस्था मिलाउने उद्घोष समेत गर्नुभयाे ।
सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताउनुभयाे ।
उहाँले बेसहारा नागरिकलाई खाना खुवाउन पाउँदा सन्तोष मिलेको बताउनुभयाे । उहाँले यो पटक कांग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताउनुभयाे ।
मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिनुभयाे ।
कार्यक्रममा पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ लगायतले सहिदहरुको स्मरण गर्दै बेसाहारा नागरिकलाई खाना खुवाउने जस्तो पूण्य काम अत्यन्त प्रशंसनीय भएको बताउनुभयाे । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुधांशु कोइरालाले गर्नुभएको थियाे ।





