
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका समुदायमा लागूऔषध दुव्र्यसनी आगोसरी सल्किन थालेको छ । यहाँका गाउँ टोलमा रहेका घरहरुको कोठासम्म यसले आफ्नो स्थान बनाईसकेको पाइएको छ ।
लागुऔषधको बढ्दो प्रयोगका कारण अभिभावक समेत हैरान भएका छन् । लागु औषधको प्रयोगले कतिपय परिवारमा नकारात्मक प्रभाव पनि देखिन थालेको छ । लागु औषधले परिवार तथा यहाँका युवाहरु बिग्रिन थालेपछि सामाजिक क्षेत्रमा लागेका केही युवाहरु यस बिरुद्ध लागेका छन् ।
उनीहरुले यस बिरुद्ध अभियान नै चलाएर लागिरहेका छन् । लागुऔषधको प्रयोग बिद्यालय जाने उमेरबाट नै सिक्ने तथा देखासिकी गर्ने सम्भावना हुने भएकाले सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुले बिद्यालय तथा समुदायस्तरमा अभियानहरु चलाउन लागि परेका छन् ।
कतिपय घरका व्यक्तिलहरुले नै आफ्नो घरमा लागुऔषधको प्रयोगका कारण समस्या निम्तियो यसबारे केही गनुपर्ने सुनाएपछि आफुहरुले लागुऔषध बिरुद्धको अभियान शुरु गरेको दिगो सामुदायिक बिकास मंच बैजनाथका अध्यक्ष प्रेम बहादुर बैगारले बताउनुभयो ।
पहिलो चरणमा बिद्यालयस्तरमा लागूऔषधबिरुद्धको अभिमुखिकरण अभियान शुरु गरेको र दोस्रो चरणमा समुदायस्तर र बालक्लबलाई समेतमा संचालन गरिने अध्यक्ष बैगारले जानकारी दिनुभयो । लागूऔषध बिरुद्धको अभियान यही मंसिर ११ देखि शुरु गरिएको र हालसम्म बैजनाथ गाउँपालिकाका चार वटा वडामा रहेका बिद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको छ ।
वडा नं-१, २, ३ र ४ मा कार्यक्रम सकिएको हो भने अब वडा नं-५, ६, ७ र ८ मा संचालन गरिएको छ । मंचको अनुमानित तथ्याँक अनुसार बैजनाथ गाउँपालिकाभित्र मात्रै करिब दुई सय पचास जना लागूऔषध प्रयोगकर्ता रहेका छन् । जसमा करिब ५०/५५ जनाको हाराहारीमा किशोरी तथा महिलाहरु छन् ।
यहाँका युवाहरुले ब्राउनसुगर, गाँजा, कोकिन तथा औषधीजन्य सामाग्रीको प्रयोग गरिरहेका छन् । अध्यक्ष बैगारका अनुसार यहाँका प्रत्येक गाउँ तथा बिद्यालयमा लागूऔषध प्रयोगकर्ता छन् । ‘समाज नै बिग्रिन लागेको छ, हामीले नियन्त्रणको प्रयास शुरु गरेका छौं,’ अध्यक्ष बैगारले भन्नुभयो, ‘समयमा नै सबैले यसबिरुद्धका कार्यक्रम संचालन गनुपर्छ हैन भने बैजनाथमा यो बिकराल बन्न सक्छ ।’
सचेतनामूलक अभियान अन्तर्गत संचालन गरिएको अभिमुखिकरणमार्फत लागूऔषध प्रयोगको बेफाईदा, यसले निम्त्यिाउने अवस्था र केही कानूनका बारेमा जानकारी गराउने गरिएको छ । यसमा हर्ष बहादुर थापाले सहजीकरण गरिरहनुभएको छ । थापा लामो समयदेखि लागूऔषध बिरुद्धको अभियानमा सक्रिय हुनुहुन्छ ।
मंचले बिशुद्ध आफ्नो सक्रियतामा समाज सुधारको कार्यक्रम संचालन गरेको भएपनि स्थानीय सरकारले यस सम्बन्धमा हालसम्म ऐन, कानून बनाउन नसकेकोले प्रत्यक्ष रुपमा सहयोग गर्न नसकेको मंचले बताएको छ । तरपनि स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको छ ।
स्थानीय प्रहरी प्रशासन पनि यस कार्यमा सहयोगी बनेका छन् । वडा नं-३ का वडा अध्यक्ष निखिल बैगारले यो अभियान एकदमै राम्रो रहेको र यसका लागि वडा कार्यालय तथा पालिकास्तरबाट आवश्यक समन्वय सहकार्य गर्ने बताउनुभयो ।
पछिल्लो समय देखासिकी तथा बढ्दो प्रबिधिको बिकासको सहायताले युवाहरुमा प्रयोगतर्फ उत्सुकता बढेको स्थानीय बुृद्धिजिवीको भनाई छ । सामाजिक परिवेश, सामाजिक पविर्तनका साथै भद्र भलादमीको बिचार पनि यसप्रति गलत हो भन्ने भावनाका बिकास भएमात्र यो कार्य निरुत्साहित हुने मंचका अध्यक्ष बैगारले बताउनुभयो ।





