७औं राष्ट्रिय थारु साहित्य सम्मेलन, भाषिक जागरणको काम : आयोजकको दावी

विमला चौधरी, राप्ती सोनारी । ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा आईतबार सम्पन्न भएको छ । गत शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनमा थारु भाषा, साहित्य, संस्कृती उनन्नयनका लागि थारु साहित्यिक संघ संस्था, भाषा प्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने लगायतका १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

थारु लेखक संघ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलन समापन गर्दै थारु लेखक संघका अध्यक्ष डा.कृष्णराज सर्वाहारीले प्रत्येक बर्ष आयोजना गरिने राष्ट्रिय थारु साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको बताउनुभयो ।

कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एक जुट भएर थारु संग्राहलय बनाउन सफल भएको उदाहरण दिँदै उहाँले भन्नुभयो –‘रुपन्देहीको सैनामैनामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन गर्यौं त्यहाँको प्रचार प्रशारमा बढी सहयोग पुग्यो, सुर्खेत र बाँकेमा गरिएको सम्मेलनमा थारुको जन जीवनमा कलम चलाउने गैर थारु साहित्यकारहरुलाई सहभागी गरायौं, यसले गैर थारु ठूला सहित्यकारको प्रभाव थारु साहित्यकारमा पर्दै गएको छ यो पनि उपलब्धी हो ।’दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु सहित्यकारको अवस्था हेरेर लुम्विीनी प्रदेशमा प्रज्ञा प्रतिस्थान बन्नु पर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘केन्द्रको प्रज्ञा प्रतिस्थानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउन सकेका छैनौं, यस विषयमा छलफल हुन नसकेपनि घोषणा पत्र जारी गर्दा केही धक्का पुगेको छ ।’

थारु भाषाको मानकताको सवालमा विस्तारै भाषाको एकरुपता आउन थालेको अध्यक्ष सर्वाहारीको दावी छ । एक दशक अघि प्रकाशन भएका थारु भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भईरहेका पुस्तकमा भाषा लेखनमा सुधार आईरहेको उहाँले बतानुभयो । देशको जुनसुकै कुनामा थारु साहित्य सम्मेलन गरिएपनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको अध्यक्ष सर्वाहारीले जिकिर गर्नुभयो ।

थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा ईतिहाँस बारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक संघले प्रत्येक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको र यो कार्यक्रम विस्तारै मूर्त रुप लिँदै गएको थारु लेखक संघका केन्द्रय सदस्य शेखर दहितले बताउनुभयो ।यस्तै समापन कार्यक्रलाई सम्बोधन गर्दै सम्मेलनमा युवा सहभागिताको लागि आगामी दिनमा युवाहरुको रचना वाचनलाई पनि विशेष स्थान दिनुपर्ने जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमन्डौराले सुझाव दिनुभयो ।

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहर ः जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभुत छलफल गरिएको थियो ।

बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृति खोज अनुसन्धानकर्ता शेखर दहित, सञ्चार कर्मी तथा बरघर अभियन्ता एकराज चौधरी, सञ्चारकर्मी तथा साहित्यकार नविन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियान्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।यस्तै सम्मेलनको कि-नोट स्पीकरको रुपमा अनुसन्धान कर्ता डा. गोविन्द आचार्यले, थारु समुदायको ईतिहाँस, संस्कार, संस्कृति, रहनसहन् बारे ब्याख्या गर्नुभयो । कोरोना कहरले यसबर्ष थारु भाषाका नयाँ पुस्तक धेरै नभएपनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यास, र थारु क्यालेण्डर विमोचन गरिएको थियो ।

सम्मेलनमा कथा संग्रह सोरठ लेखिका लक्षमी रानालाई २५ हजार २५ रुपौयाँ नगदसहित सम्मान गरिएको थियो भने थारुको जनजीवनमा कलम चलाउँदै आएकी साहित्यकार किरण आचार्यलाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्याका रचना वाचन, साँस्कृतिक प्रस्तुतीलाई पनि स्थान दिईएको थियो ।

सम्मेलन ब्यवस्थापनको मुख्य भमिकामा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारु, महासचिव कालुराम थारु (समर्पण), कोषध्यक्ष सुनिता थारुलगायतका सदस्यहरु रहनुभएको थियो ।

सम्मेलनलाई सफल पार्न स्थानीय पालिका, वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, बरघरलगायतले सहयोग तथा सहकार्य गरेका थिए । सम्मेलनमा पूर्व सुनसरी, मोरङदेखि सुदुरपश्चिमको कञ्चनपुर लगायतका जिल्लाबाट झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।

Previous articleजनयुद्ध दिवसको अवसरमा पहिलो पटक भलिबल प्रतियोगिता हुने
Next articleटर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here