
नेपालगञ्ज । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटीले २७ औं जनयुद्ध दिवसको अवसरमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जनयुद्ध दिवसको अवसरमा नेपालगञ्जमा संचालन हुने बिबिध कार्यक्रमका बारेमा आइतबार पत्रकार भेटघाट कार्यक्रममार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।
अध्यक्ष शाहीका अनुसार, फागुन १ र २ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई ३५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३/३ हजारका दरले प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी गराउनुभयो ।





