
कोहलपुर । बाँकेका किसानहरुको सहयोगी हुने गरी बाली उपरान्त हुने क्षति न्यूनिकरण गर्नका लागि नयाँ प्रबिधिहरुमा पहुँच (रिप्लान्ट) परियोेजना संचालन भएको छ । जिल्लाका पालिकाहरुमा रहेका किसानहरुलाई सहयोगी हुनेगरी परियोजना संचालन हुन लागेको हो ।
परियोजनाबारे आइतबार कोहलपुरमा सरोकारवालाहरुबीच समन्वयात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा पालिकाका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा परियोजनालाई सफल बनाउन आफुहरुले सहयोग गर्ने पालिका प्रमुखहरुले बताएका छन् ।
नेपाल कृषि प्रधान देश भएको तर कृषि उत्पादनले बजार पाउन नसकेको लगायत उत्पादन तथा कृषि क्षेत्रका समस्या जस्ताको त्यस्तै हुनु नेपालीका लागि दुःखद भएको वक्ताहरुको जोड थियो । स्थानीय कृषि उत्पादन बजारसम्म पुग्ने सहजता र कृषि कर्ममा सहयोग हुन सके किसानहरु समृद्ध हुने धारणा राखे ।
पालिकाले किसानहरुको हितमा रहेर काम गर्दै आएको र कृषकहरुका लागि बिभिन्न योजनाहरु समेत निर्माण गरिएको पालिका प्रमुखहरुले जानकारी गराएका थिए । बिचौलियाहरुका कारण वास्तविक किसान पिडामा रहेको कुरा राम्रोसंग बुझेका पालिका प्रमुखहरुले यस्ता समस्या समाधानमा आफुहरु लागि रहेको समेत बताएका थिए ।
साना किसानहरुबीच नविनतम मोडेलबाट हर्मेटिक पोष्ट, हार्वेष्ट भण्डारणको अनुसरण तथा बिस्तार, नीजि सेवा प्रदायक पात्रहरुको क्षमता अभिबृद्धि जस्तै बिभिन्न बित्तिय पहुँच तथा योजनाहरु, हर्मेटिक पोष्ट हार्वेष्ट भण्डारण र पुरक प्रबिधिहरु, बाली बीमा, साना कृषकहरुले समुदाय व्यवसाय सहजकर्ताहरुको संजाल सिर्जना गरि कृषि ऋण र बाली बीमा समाबेश गरेर हर्मेटिक पोष्ट हार्वेष्ट प्रबिधि अपनाउने कार्यलाई गति दिने लगायत परियोजनाको उद्देश्य छ ।
आई डि ई नेपाल, मुक्तिनाथ बिकास बैंक, सिद्धार्थ इन्सुरेन्स र नाफ सीइस प्रालिको सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले सो परियोजना संचालन गर्न लागेको हो । कार्यक्रममा कोहलपुरका नगर नगरप्रमुख पूर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा कुमारी थारुको सहभागिता रहेको थियो ।
मंचका अध्यक्ष चम्प सिंह थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा कृषितर्फ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँ, मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।





