तेस्रो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान, चुङ्वा शेर्पा सदभावना दुत

नेपालगञ्ज । तेस्रो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गतेसम्म रहेको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल लकडाउन पछि तेस्रो संस्करण गर्न लागिएको हो ।

९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।

विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार नगद सहित प्रमाणपत्र र विद्यागत रुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको छ ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नुहुनेछ । फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन, (Tourism), वन्यजन्तु (Wild Life), खेलकुद (Sports), संस्कृति (Culture, प्रकृति र संरक्षण (Nature & Conservation), खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् ।

यस वर्ष देखि कृषी (Agriculture) बिधा थप गरिएको छ । हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । nepalgunjphoto@gmail.com मा फोटो पठाउन सकिने छ । विगतमा लुम्विनी, कर्णाली र सुदुरपश्चिममा खिचिएका फोटोहरु मात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्ष देखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई अगाडी बढाउन थालेका हौं ।, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’ फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ ।

यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ भने दुई दिने फोटोग्राफी कार्यशाला हुनेछ । ३५ जना सहभागी रहने कार्यशालालाई वरिष्ठ फोटो पत्रकारहरुले प्रशिक्षण दिनुहुनेछ ।

यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्तावीच सेतुको काम पनि गर्नेछ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

चुङ्वा शेर्पा सद्भावना दुत
चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर (सद्भावना दूत) घोषित गरिएको छ ।

केही समयअघि फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहवीच राजधानी काठमाण्डौंमा सो सहमति भएको हो ।
शेर्पाले केही महिनाअघि हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउनुहुन्छ ।

वाईल्ड याक बिश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ । जंगली याकलाई कर्णाली प्रदेशको खुर्खेतमा हुने राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ ।

एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुनुहुन्छ । ५८ बर्षको उमेरपछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्कनुभएका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिच्नुभएको छ । नेपालमा मात्र होईन तान्जानियाको राष्ट्रिय निकुञ्जमा समेत करिव १ महिना वसेर फोटो खिचेको अनुभव उहाँसंग छ ।

वाईल्डलाईफ फोटोग्राफी गर्न व्यत्तिगत तवरमा धेरै खर्च गर्नुभएका चुङ्वा याकको फोटो खिच्न हेलिकोप्टर नै चाटर्ड गरेर लिमी भ्याली पुग्नुभएको थियो । प्रविधीमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधीको क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहनुभएको छ ।

महिनौंसम्म अनकण्टार हिमाली पठार र राष्ट्रिय निकुञ्जमा टेण्ट खडा गरेर बस्ने चुङ्वा अहिले १ महिनाको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र टेन्ट खडा गरेर बाघको फोटोग्राफीका लागि बस्नुभएको छ ।

शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उहाँको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिईएको छ । हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजिक सञ्जाल फेसबुकमा सक्रिय हुनुहुन्छ भने टिकटकमा उहाँले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् ।

‘यो उमेरमा पनि चुङ्वा शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुत घोषणा गरेका हौं ।,’ अन्तरालका प्रमुख कार्यकरी जयनारायण शाहले भन्नुभयो,े ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि एउटा उचाई लिनेछ ।’

Previous articleफाेहाेर फाल्न निस्केका पाेखरेल परे कारबाहीमा
Next articleनरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here