
डुडुवा । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान शुरु भएको छ । अभियान सफल बनाउन डुडुवा गाउँपालिकाले सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गर्यो ।
कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थिति, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनीति निमार्ण गरिएको छ ।
औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निर्माण गरिएको रणनीति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा यही फागुन ११ गतेदेखि अभियान संचालन गर्न लागिएको हो ।
करिब एक हप्तासम्म संचालन गरिने उक्त अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ । उचाईका आधारमा आइभर मेट्रिन, डिसी र अल्वेन्डाजोल नामक औषधी खुवाउने शाखा प्रमुख बुढाले बताउनुभयो । ग्रामीण क्षेत्रमा अशिक्षाका कारण अधिकांस नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो ।
गत वर्ष डुडुवामा ७८ प्रतिशत नागरिकले मात्र औषधी सेवन गरेका थिए । यस वर्ष औषधी सेवनका लागि जनप्रतिनिधि, दलका प्रतिनिधि, समुदायका अगुवा लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ । डुडुवामा गर्भवती र सुत्करीबाहेक ४१ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य शाखा सहसंयोजक बिरेन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार दुई वर्ष भन्दा माथिका मानिसलाई यो औषधी खुवाइनेछ ।
कार्यक्रममा वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य शिवकुमार जयसवाल, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।





