
नेपालगञ्ज । लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको जीवनमा आधारित छोटो चलचित्र ‘निलो फुल’ नेपालगञ्जमा प्रदर्शन गरिएको छ ।
चलचित्रका निर्माता तथा निर्देशक सुनिलबाबु पन्तको बिशेष उपस्थिति र नेपालञ्जका सरोकारवालाहरुको उपस्थितिमा सोमबार प्रदर्शन गरिएको थियो । चलचिचले लैङ्गिक तथा यौनिक अल्पसख्यक समुदायका सदस्यहरूलाई कसरी इच्छा विपरीत विवाह गर्न वाध्य पारिने र सन्तान जन्माउन नसक्दा कसरी विवाहित जोडी हेला र तिरस्कारको सिकार वन्नुपर्छ भन्ने कुरालाई उजागर गरेको छ ।
इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष, बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु पर्ने जस्ता बिषयबस्तुहरु समेटिएका छन् ।
२३ वर्ष अघि सन् २००१ मा लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको मानवअधिकार र स्वास्थ्यमा काम गर्न नील हिरा समाज नामक गैरसरकारी संस्था स्थापना गर्नुभएका निर्माता तथा निर्देशक पन्तले आफुले भाडामा दिएको घरबाट उठेको रकमबाट चलचित्र निर्माण गरेको जानकारी गराउनुभएको थियो ।
चलचित्रलाई अमेरिकी दूतावासले प्रदर्शनमा सहयोग गरेको छ । नेपालगञ्जमा भएको प्रदर्शनमा सांसद, अधिकारकर्मी, गैससकर्मी, युवा, बिद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।







