तीनै तहको सरकार मिलेर काम गर्नुपर्छ: मन्त्री केसी

नेपालगञ्ज । लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

नेपालगन्जमा आइतबार वाइसीएल बाँकेले २८ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । ‘हामीकहाँ भएका तीनै तहका सरकारबीच समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता हो’ उहाँले भन्नुभयो, ‘तीनै तहबीच समन्वय र सहकार्य भएर काम भए संघीयता कार्यान्वयनमा सहज हुन्छ ।’

जनयुद्वकै जगमा अहिलेको व्यवस्था आएको नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य समेत रहेकी मन्त्री केसीले बताउनुभयो । ‘जनयुद्वकै जगमा अहिलेको संघीय गणतन्त्र नेपाल भएको हो । दुःख गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन तपाई युवाहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ’ उहाँले भन्नुभयो ।

देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री केसीले सोहीअनुसार भूमिका समेत निभाउनुपर्नेमा जोड दिनुभयो । ‘युवाको तातो जोश र जाँगरलाई विवेकमा बदलेर साँच्चिकै समाजको नेतृत्व गर्न सक्नुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यसकारण युवा साथीहरु साँच्चिकै विवेकको रुपान्तरण गर्दै युवाले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

देश परिवर्तनका लागि युवाहरुले भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनुपर्ने मन्त्री केसीले बताउनुभयो । ‘यो देशको परिवर्तनको निमित्त समेत युवाहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनुपर्छ’ उहाँले भन्नुभयो ।

Previous articleराजेन्द्र बजगाँई : संगित जगतको दह्रो खम्बा
Next articleबर्दियामा थारु गोत्यार सम्मेलन, राष्ट्र सेवक र व्यवसायीलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here