
नेपालगञ्ज । बाँकेको कोहलपुरबाट ११६ ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
शनिबार बिहान साढे ३ बजे कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी सडकखण्डबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
बर्दियाका २१ वर्षीय विशाल सिंह, २८ वर्षीय बिक्रम सिंह ठकुरी र बाँकेका १८ वर्षीय निर्जन ढकाल पक्राउ परेका छन् । डिएसपी तिवारीका अनुसार विशालले लगाएको ज्याकेट र मलद्वारबाट ११५ ग्राम ७८० मिलिग्राम बरामद गरेको हो ।
निर्जनबाट २२० मिलिग्राम बरामद भएको हो । उनीहरूले भे १३ प २७३ नम्बरको मोटरसाइकल चलाएर आएका थिए । सडकछेउमा फलफुल खरिद गर्न लागेका बेला प्रहरीले उनीहरूको शरीरमा तलासी लिएको डिएसपी तिवारीले बताउनुभयो ।
उनीहरूमाथि सोधपुछ गर्दा भारतबाट ल्याएको बताएका थिए । ठकुरीले पनि कोहलपुरसम्म लागु औषध ओसारपसार गरेको खुलेपछि उनलाई पनि पक्राउ गरेको डिएसपी तिवारीले जानकारी दिनुभयो । उनीहरू तीनै जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।





