
सन्तोष शुक्ला, रुपैडिहा
भारतीय बजार रुपैडिहा हुँदै नेपाल बिक्री गर्न ल्याउन लागिएको चोरीको मोटरसाईकलसहित एक चोर पक्राउ परेका छन् । चोरहरुले भारतका बिभिन्न क्षेत्रबाट चोरी गरेर नेपाल ल्याई बिक्री गर्ने र नेपालका बिभिन्न क्षेत्रबाट चोरी गरी भारत लगेर मोटरसाईकल बेच्ने गरेका छन् ।
यसै क्रममा मंगलबार चोरीको मोटरसाईकल नेपाल ल्याएर बेच्ने योजनामा रहेका भारतीय क्षेत्र अगैयाका रामलखनलाई प्रहरीले अगैयाबाट पक्राउ गरेको हो ।
मोटरसाईकल चोरी भएको जाहेरीका अनुसार सुराकीको सूचनाको सहायताले अभियुक्तलाई पक्राउ गर्न सफल भएको भारतीय प्रहरीले बताएको छ । पक्राउ परेका रामलखनलाई आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गरी अदालतमा उपस्थित गराइएको छ ।
पण्डिपुर्वा निवासी शिव कुमार शर्माले दिएको जाहेरीका आधारमा चोरी भएकोे यूपी ४० एजे ३९१८ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलको खोजी गर्दै जाँदा चोर पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।





