
काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ ।
आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् । जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ ।
केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ । त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन् । अर्को निर्णय नहुन्जेलसम्म श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।
‘जहाजको प्राविधिक र मेकानिकल पार्ट सबै परीक्षण गरेर उडान योग्य छ भन्ने भएपछि मात्रै श्री एयरलाइन्सका जहाजलाई उडान अनुमति दिइनेछ,’ उहाँले भन्नुभयो, ‘हिजो जहाजमा समस्या देखियो । अरू जहाजमा फेरि यस्ता समस्या नदेखिऊन भन्ने हिसावले श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरेर चेक गर्न लागिएको हो ।’
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो ।
श्री एयरलाइन्सका साना ठूला गरी ८ वटा जहाज छन् । जहाजका इन्जिन परीक्षण गरेर उडान योग्य रहेको पाइएमा अर्को निर्णय गरी जहाजलाई उडान अनुमति दिइने उहाँले बताउनुभयो ।





