
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताउनुभएको छ ।
बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको थियो । साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिनुभएको छ ।
आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उहाँलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने उहाँले बताउनुभयो । राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्यसम्पादन गर्दा निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध पौडेलको प्रतिवद्धता छ ।
‘नेपालको राष्ट्यि एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहने छन् ।’ उहाँले भन्नुभएको छ ।
राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने राष्ट्रपति पौडेलले बताउनुभएको छ ।





