जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

काठमाण्डौं । विभिन्न राजनीतिक दल निकट भ्रातृ संगठन र दलित संघ संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घ संस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन गरी घटनामा संलग्न उनलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३ औं दिनको पुन्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘किरिया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घ सङ्गठनको भनाइ छ।

‘सार्वजनिक पदधारण गरेका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान लगायतका दलित सङ्घ सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् ।

ती सङ्घ संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् । रासस

Previous articleबर्दियाको राजापुरमा स्थानीय पाठ्यक्रम निर्माणको तयारी
Next articleबर्खा अगाबै नाला सफाईमा जुट्यो नेपालगञ्ज उपमहानगरपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here