
काठमाडौँ । राप्रपा नेपालले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सीमा बढाउन सरकारसँग माग गरेको छ ।
केन्द्रीय पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लघुवित्तको ऋण चक्रमा परेका विपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले महँगी नियन्त्रण गर्न तत्काल सशक्त र प्रभावकारी कदम चाल्न तथा पुँजी बजारका लगानीकर्ताहरूको आर्थिक सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले काठमाडौँ उपत्यकाभित्रका सबै वडाहरूमा चैत्र मसान्त भित्र इकाई समिति गठन गर्ने, प्राथमिकता प्राप्त १५ जिल्लाहरूका वडाहरूमा वैशाख मसान्त भित्र इकाई समिति गठन गर्ने, अन्य जिल्लाहरूमा कम्तीमा पालिका तहका जेठ महिना भित्र इकाई समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै नेताहरू राजिव पराजुली, श्याम तिमिल्सिना, सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङलगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोली जिल्लामा खटिने समेत निर्णय गरेको छ ।
यस्तै राप्रपा नेपालले चैत्र महिनाभित्र प्रदेशस्तरीय प्रशिक्षण, वैशाख महिनाभित्र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।





