
हेमराज शर्मा, दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।
उचित व्यवस्थापन हुन नसकेका मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताउनुभयो । प्रतिष्ठानले त्यसबाट प्राप्त आम्दानी फोहरमैला व्यवस्थापनमा खर्च गर्ने गरेको छ ।
धेरै स्वास्थ्य संस्थाले आफ्नो संस्थामा सेवा प्रवाहका क्रममा निस्केको फोहर व्यवस्थापन नगरेर लुकिछिपी अव्यवस्थित रुपले फाल्दा समस्या आएको गुनासो आइरहेको अवस्थालाई ध्यानमा राखेर उचित व्यवस्थापन थालिएको प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा गम्भीर नभइरहेको अवस्थामा पछिल्लो डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन गर्ने उपकरणमार्फत् फोहरलाई अलग अलग गरी निर्मलीकरण गर्ने काम गरिहेको र फोहरबाट आम्दानी समेत भइरहेको लामिछानेले बताउनुभयो ।
सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर सङ्कलन गरी त्यसको उचित व्यवस्थान गर्न प्रतिष्ठानले योजनाबद्ध ढङ्गले काम गरिहेको जनाएको छ ।
प्रतिष्ठानका निमित्त उपकूलपति एवम् शिक्षाध्यक्ष डा.वसन्त लामिछानेले स्वास्थ्यजन्य फोहर मैला व्यवस्थापनमा सबैसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो ।





