
मुम्बई । बलिउडका ‘भाइजान’ सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएपछि उनको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । मुम्बई प्रहरीले सलमानको मुद्धाको छानबिन गर्ने क्रममा गोल्डी बराड नाम गरेका एक अपराधीले धम्की दिएको खुलासा गरेको छ ।
मुम्बई प्रहरीले इन्टरपोलको सहयोगले यो जानकारी हात पारेको हो । भारतीय सिने जगतका सुपरस्टार सलमान खानलाई धम्की दिने गोल्डी बराड यतिबेला बेलायतमा बसिरहेको प्रहरीको प्रारम्भिक रिपोर्टमा स्पष्ट पारिएको छ ।
मुम्बई प्रहरीका अनुसार गोल्डी तिनै अपराधी हुन्, जसले पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गराएका थिए । गोल्डी बेलायतमा बसोबास गर्छन् । उनी त्यही बसेर भारतमा अपराधिक क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।
मुम्बई प्रहरीले सलमानको मुद्धालाई लिएर बेलायती सरकारलाई पनि पत्राचार गरिसकेको छ । उसले गोल्डीको विषयमा थप अनुसन्धान गर्न र भारत सरकारसमक्ष सुपुदर्गीका लागि सहयोग गर्न आह्वान गरेको छ ।
सलमानका मेनेजर जोर्डी पटेललाई १९ मार्चमा एउटा म्यासेज प्राप्त भएको थियो, जसमा उल्लेख थियो –‘तेरो बोस सलमानसँग गोल्डी बराड कुराकानी गर्न चाहन्छ । लोरेन्स बिश्नोइको अन्तर्वार्ता सलमानले हेरिसकेको होला । यदी हेरेको छैन भने पनि उसलाई भनिदिनु, त्यो अन्तर्वार्ता अवश्य हेर्नू । विवाद समाधान गर्ने हो भने कुरा गराउने वातावरण तयार पार्नू । फेस–टु–फेस कुरा गर्नुछ, यो पनि भनिदिनु । समयमै यो सबै बताइदिएको छु । यसपछि झट्का हेर्ने मौका मात्र जुर्नेछ ।’
जेलमा रहेका ग्याङस्टर लोरेन्स बिश्नोईले केही दिनअघि सलमान खानलाई धम्की दिएका थिए । यो घटनाभन्दा एक दिनअघि मात्र सलमानका मेनेजरले धम्कीयुक्त इमेल प्राप्त गरेका थिए ।
सलमानसँग नजिक रहेका प्रशान्त गुन्जालकरले यो मुद्धामा बान्द्राको प्रहरी थानामा उजुरी दर्ता गराएका थिए । यसपछि मुम्बई प्रहरी हर्कतमा आएको हो ।
धम्कीपछि सलमानको घर बाहिर सुरक्षाको लागि प्रहरीको एउटा दस्ता खडा गरिएको छ । यो मुद्धामा सलमान निकै चिन्तित छन् । प्रहरीले पनि सलमान र टिमलाई केही दिन बाहिर ननिस्कन आग्रह गरेको छ ।
सलमानको नयाँ चलचित्र ‘किसीका भाई, किसीकी जान’ आउँदो अप्रिलमा रिलिज हुँदैछ । खान यसको प्रमोशनमा जुट्ने बेला धम्कीपूर्ण पत्र प्राप्त भएको हो । प्रहरीले खानलाई पुरानो सेड्युल सबै परिवर्तन गर्न आग्रह गरेको छ ।
१५ मार्चमा एबीपी न्युजमा बिश्नोईको अन्तर्वार्ता सार्वजनिक भएको थियो, जसमा उनले सलमानलाई मार्ने धम्की दिएका थिए । उनले ‘जुनदिन सलमानको सुरक्षा हट्छ, त्यो दिन उनको अन्तिम दिन हुने’ भन्दै धम्की दिएका थिए ।
उनले सलमानको अहंकार रावणभन्दा धेरै भएको आरोप लगाउँदै, सिद्धु मुसेवाल पनि यस्तै अहंकारी भएको बताएका थिए ।
सलमानलाई अहिले राज्य सरकारले ‘वाइ प्लस’ सुरक्षा प्रदान गरेको छ । खानको सुरक्षाका लागि ११ जवान तैनाथ छन्, जसमा २ कमाण्डो र २ जना पीएसओ छन् । खानलाई सुरक्षा दिन घर बाहिर दुई वटा गाडी उपलब्ध गराइएको छ । सलमानको गाडी बुलेटपप्रुफ छ ।





