
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरीयता र प्रभावकारिताको अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको हो ।
छ वटा स्वास्थ्य चौकीमध्ये कम्दी स्वास्थ्य चौकीले ८८ प्रतिशत अंक ल्याएर पहिलो स्थानमा देखिएको छ भने होलिया स्वास्थ्य चौकी सबैभन्दा कम ६३ प्रतिशत अंक प्राप्त गर्न सफल भएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र बहादुर घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकतम अंक ल्याउनेमा कम्दी स्वास्थ्य चौकी मात्र रहेको छ भने अन्यले मध्यम अंक ल्याएका छन । होलियाले सबैभन्दा कम अंक ल्याएकोले मापनमा देखिएका कमि कमजोरीलाई सुधार गर्न कार्ययोजना निमार्ण गरिएको छ ।
मापनमा बेतहानीले ८५ प्रतिशत, बनकट्टीले ८४ प्रतिशत, शाहपुर्वाले ८० प्रतिशत, हिरिमिनियाले ८६ प्रतिशत र समग्र पालिकाले ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार सुशासन र व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन अन्तर्गत एक सयबढी सूचकहरुमा अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको हो ।
स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाको गुणस्तरीयता र प्रभावकारीताका बारेमा देखिएका समस्या र कमि कमजोरीलाई अध्ययन गरि सुधार गर्नका लागि कार्ययोजना निमार्ण गरिएको शाखा प्रमुख बुढाले बताउनुभयो । यस्तै सोही बिषयमा बुधबार पालिकास्तरीय न्युनतम सेवा मापदण्ड कार्यक्रमहरुको समिक्षा तथा सुदृढिकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन गोपाल गौतम, जनस्वास्थ्य निरिक्षक देवनारायण उपाध्याय, छ वटै स्वास्थ्य चौकीका इन्चार्ज, पालिकाका शाखा प्रमुख लगायतको सभागिता रहेको थियो ।





