अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

एजेन्जी । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गर्नुभएको थियो ।

उहाँले यसअघि अल्जेरियाको भ्रमण गर्नुभएको थियो । सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्री अल्जेरियाको भ्रमणमा जानुभएको हो ।

राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भएपनि अल्जेरियासँग कुनै सम्झौता भए÷नभएको सार्वजनिक भएको छैन ।

साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरुसँग मन्त्री एस्परले प्रस्ताव राख्नुभएको छ ।

संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो । अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गर्नुभएको थियो ।

सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो ।

मोरक्कोले हरेक वर्ष “अफ्रिका लायन” नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ । कोरोना भाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ।

Previous articleबाँकेमा करिब ७७ प्रतिशत काेरोनामुक्त
Next articleआलुको ट्रकमा ल्याइएको २ सय १३ बोरा प्याज बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here