
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा स्थित झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो ।
जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो । चार जनाले हामफालेर ज्यान जोगाएका छन् ।
प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो । यो जिप झुलाघाटबाट बझाङस्थित बाग्थला जाने क्रममा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू बझाङस्थित केदारस्युँ गाउँपालिका वडा नम्बर ५ बाँझ भन्ने गाउँका भएको खुलेको छ ।
जिपका चालक अर्जुन बोहरा सम्पर्कविहीन भएकोले खोजी कार्य जारी रहेको बैतडी प्रहरीको भनाइ छ ।





