नयाँ पुस्तामा सकारात्मक संस्कारको हस्तान्तरण जरुरी – नगर प्रमुख बिष्ट

नेपालगञ्ज । “नेपाली हुँ नेपाली, सनातनी नेपाली हिन्दू हुनुमा गर्व छ मलाई” भन्ने मूल नाराका साथ नेपालगन्जमा शुभकामना आदान-प्रदान कार्यक्रम सप्पन्न भएको छ ।

अर्जुन शक्ति केन्द्रका अध्यक्ष अनुप कुमार गुप्ताको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा विजया दशमी, शुभ दीपावली, छठ पर्वको सुअवसरमा शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम गरिएको भएको हो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनीश वाजपेयी (विवेक) विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन शिवदेवी वैश्यद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रमको उदघोषक शोभा थापा र एन्जलिना बुढाले गर्नुभएकाे थियाे भने अर्जुन शक्ति केन्द्रका सचिव विजय कुमार गुप्ताले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर प्रमुख प्रशान्त विष्टले अर्जुन शक्ति केन्द्रले आफ्नो धर्म, कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धनका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “सेवा नै धर्म हो” भन्दै उहाँले युवा तथा बालबालिकाहरूले पढाइ-लेखाइका साथसाथै धर्म-संस्कृतिको जगेर्ना गर्न पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो । साथै, आफ्ना आमाबुवा र गुरुलाई पहिलो भगवान मानेर सम्मान गर्नुपर्ने र नयाँ पुस्तामा सकारात्मक संस्कारको हस्तान्तरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य निखिल वैश्य, विश्व हिन्दू परिषद् नेपाल बाँकेका महिला अध्यक्ष कृष्णादेवी पाण्डेय, हिन्दू सम्राट सेना बाँकेका संयोजक आर्यन बाल्मिकी, जय महाकाल युवा समितिका संयोजक शिव कुमार राजपूत, समाजसेवीद्वय पंकज कनोजिया र धर्मेन्द्र सोनी तथा पत्रकारद्वय दिनेश ठाकुर र रिसब सिंह बाडिया लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसर पारेर विजया दशमी तथा दुर्गामाता विसर्जनमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई खादा ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अर्जुन शक्ति केन्द्रका प्रशिक्षक गुरु निखिल सिंह बडियाको अगुवाइमा केन्द्रका खेलाडीहरूद्वारा आकर्षक लाठी प्रदर्शन तथा विभिन्न साहसिक कलाहरूको उत्कृष्ट प्रस्तुति दिइएको थियो, जसले उपस्थित सबैको ध्यान खिचेको थियो ।

Previous articleरास्वपा बाँके २ का सभापति लामिछानेले पाए थप जिम्मेवारी
Next articleआईशाका विद्यार्थीलाई तीन महिने कम्प्युटर सीप प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here