
बाँके । जिल्लामा प्रहरी उपरिक्षक ओम बहादुर राना आएपछि अपराधका मुद्धामा लामो समयसम्म फरार भएकाहरु प्रहरीको फन्दामा पर्न थालेका छन् । एसपी रानाले पुराना फाइल खोल्दै अनुसन्धान शुरु गरेपछि अपराध गरेर फरार प्रहरीको फन्दामा पर्न थालेका हुन् । यसैक्रममा कर्तव्य ज्यान मुद्दामा फरार एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले खजुरा गाउपालिका वडा नं.–६ मा का २८ वर्षीय बब्लु बेहना भनिने रहमत अलि बेहनालाई ७ वर्षपछि पक्राउ गरेको छ । बेहना घरबाटै पक्राउ परेका हुन् ।
बेहना २०७० असोज १ गते साविक उढरापुर गाविस वडा नं–९ निबासी राम भरोसे चमारका २० वर्षीय छोरा गोलु चमारको हत्यामा संलग्न रहेको एसपी रानाले जानकारी दिनुभयो । हत्यामा संलग्न ५ जनामध्ये साविक उढरापुर गाविस वडा नं–९ का विधिया यादव तत्काल प्रकाउ परी हाल कारागारमा छन । यस्तै सोही ठाउँकै राजेस पासी केहि समयपछि पक्राउ परि हाल पुर्पक्षमा थुनामा छन्, भने नुर हासन खाँ र पेलरु वेहना फरार छन् । यस्तै जिल्ला प्रहरीले पक्राउ परेका अपराधीहरुको तथ्याँक हेने हो भने गत असारदेखि असोजसम्म ३ सय ६१ जना फरार प्रतिबादीलाई पक्राउ गरिएको छ ।
अदालतबाट फैसला भएका ३ सय १५ जना मुल्तबिमा रहेका २३ जना र चालु मुद्दामा फरार रहेका २३ जना गरी ३ सय ६१ जनालाई पक्राउ गरिएको हो । जिल्लामा २ हजार ३ सय ५८ फरार छन् । प्रहरी उपरीक्षक रानाका अनुसार बाँकेमा हालसम्म प्रहरीले नियन्त्रणमा लिएका मध्येबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैया जरिवाना र ९८ बर्ष २ महिना २० दिन कैद असुल हुने छ । बाँकेमा फैसला भई फरार रहेका २ हजार २ सय १० जना र प्रहरीमा मद्दा दर्ता भई फरार रहेका १ सय ४८ जना गरी २ हजार ३ सय ५८ जना अपराधी फरार रहेको तथ्याङ्क जिल्ला प्रहरीसंग रहेको छ ।





