
दाङ । अटोको ठक्करबाट बालिकाको ज्यान गएपछि फरार घोराही उपमहानगरपालिका वडा नं–१२ गुर्जेका अटो चालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट प्रहरीले पक्राउ गरेको छ ।
घोराही–१२ गुर्जेको पक्की पुलमा नम्बर नखुलेको अटोले गएको चैत १६ गते ठक्कर दिँदा तुलसीपुर–१७ की पाँच वर्षीया बालिका युविका बुढाथोकीको ज्यान गएको थियो ।
अटोको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा चैत २० गते भैरहवा मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयो ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको थियो, अरू केही खुलेको थिएन’, डीएसपी गौतमले भन्नुभयो, ‘प्रहरीले सूचना संयन्त्रको प्रयोगसँगै प्राविधिक माध्यम र सीडीआर एनलाइसेसका माध्यमबाट प्राप्त सूचनाको आधारमा सुवासलाई पक्राउ गर्न सफल भएका हौँ ।’
उहाँका अनुसार सुवासले चलाएको रा १ ह ७००३ नम्बरको अटोले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते बालिकको उपचारका क्रममा चार दिनपछि ज्यान गएको थियो ।
डीएसपी गौतमका अनुसार घटना घटेको २४ दिनपछि वैशाख ८ गते प्रहरीले त्यो अटो लुकाएर राखेको अवस्थामा फेला पारि नियन्त्रणमा लिएको थियो ।
त्यसको दुई दिनपछि अटो चालक सुवासलाई भारतको हरियाणाबाट पक्राउ गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।
भारतको हरियाणामा रहेका सुवासलाई भारतीय प्रहरीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरी ल्याउन सफल भएको डीएसपी गौतमले जानकारी दिनुभयो ।





