
कोहलपुर । बाँकेको कोहलपुरमा तीन प्रदेशलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा बन्न लागेको छ ।
कोहलपुर नगरपालिका २ शिवमन्दिर नजिकै करिब ४ कठ्ठा जग्गामा ५ करोड ४८ लाख ८५ हजार २ सय ७३ रुपैया ९७ पैसामा कोहलपुरमा प्रशासनिक भवन बन्न लागेको हो ।
कोहलपुरमा रहेको जय भवानी निर्माण सेवाले २०८० चैत्र २६ गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्ने भनी सम्झौता गरेको छ ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य र त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले नेपालगञ्जमा बन्न लागेको कार्यालय कोहलपुरमा ल्याउन धेरै संघर्ष गरेको बताउनुभयो ।
कोहलपुरमा कार्यालय ल्याउन समन्वय र सहकार्यमा गर्नुभएका सबै आम कोहलपुर बासीहरुमा धन्यवाद समेत दिनुभएको थियो ।
आचार्यका अनुसार सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको कामकाज गर्ने गरी यो भवन निर्माण हुन लागेको छ । क्याम्पस तथा डिग्री तहका विद्यार्थीहरुले काठमाण्डौं जानुपर्ने र विभिन्न समस्याहरु पाउने गरेका थिए ।
ती समस्याहरु निकारण भएको छ । अबको ११ महिनापछि कोहलपुरबाट नकाठमाण्डौंमा पाइने सेवाहरु कोहलपुरबाट नै उपलब्ध हुने नगर प्रमुख आचार्यले बताउनुभयो ।
यस्तै त्रिविको क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयका सहपरिक्षा नियन्त्रक सुमन गौतमले ५ करोड ४८ लाख ८५ हजार २ सय ७३ रुपैया ९७ पैसामा भवन बन्न लागेको बताउनुभयो ।
‘४ तलाको भवन बन्ने छ, जसमा १८र२८ का कोठाहरु हुनेछन्,’ उहाँले भन्नुभयो, ‘यसमा काठमाण्डौंबाट दिइने सेवाहरु कोहलपुरबाट नै उपलब्ध गराउनेछौं ।’
तीन प्रदेशका करिब २ सय बढि क्याम्पसहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ कोहलपुरमा भवन बनाउन लागेको त्रिविको क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयका सहपरिक्षा नियन्त्रक गौतमले बताउनुभयो ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लिलामणि आचार्य, कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायत, शिवशक्ति आधारभूत विद्यालयका प्रअ बद्रिनाथ सापकोटा, क्याम्पसका प्रमुख लगायत शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।





