ठाउँमै पुग्यो सहयोग, निरन्तरता दिनुस : सरोकारवाला

बाँके । नेपालगञ्जमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको अनुगमन गरिएको छ । परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाहरुका युवाहरुलाई आर्थिक सहयोगसंगै जीविकोपार्जनका लागि सहयोग प्रदान गरिएको छ । सहयोगका कारण भएको फाईदा तथा जीविकोपार्जनका लागि गरिएको व्यवसाय, उद्यमबाट पनि प्राप्त भएको उपलब्धी तथा समस्याको पहिचान गर्न बिहीबार सरोकारवालाहरुले परियोजनाको अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा कार्यक्रमबाट लाभान्वित युवाले सहयोगलाई सदुपयोग गरेको पाइएको छ । त्यस्तै जीविकोपार्जनका लागि गरिएको व्यवसायबाट जीवन निर्वाह गर्न सजिलो भएको पाइएको छ । सहयोग भएपछि नै आफुहरुमा आत्म निर्भरता आएको र अहिले जीवन निर्वाह गर्न सहज भएको स्वंय परियोजना अन्तर्गत सहयोग पाएका युवाहरुले बताएका छन् । सरोकारवालाहरुले नेपालगञ्ज–६ मा ब्रस उद्योग, छात्रबृति पाएकी बालिका रेनुका तिवारी, शिवम गुप्ता, किराना पसल संचालन गर्दै आएका बब्लु शाहु, नाई (कपाल काट्ने) काम गर्दै आएका धमेन्द्र नाउँ र कुमारी मनिष मिश्राले संचालन गर्दै आएकी व्युटि पार्लरको अनुगमन गरेका थिए ।

अनुगमनपछिको समिक्षामा बोल्दै जिल्ला समन्वय समितिका सदस्य चेत बहादुर थापाले कार्यक्रमले वास्तविक व्यक्तिलाई सहयोग गरेको पाइएको बताउनुभयो । उहाँले बिगतदेखि नै यो परियोजना अन्तर्गत संचालन भएको कार्यक्रमले जसलाई सहयोग गरेर अगाडी बढाउनुपर्ने व्यक्तिले सहभागि भएको देखिएकाले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । वडा नं–१२ का वडा सदस्य तरुण बज्रचार्यले परियोजनाबाट धेरै युवालाई सहजरुपमा अगाडी बढ्नमा मद्यत पुगेकाले निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेपालगञ्जका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापाले कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । परियोजनाले धेरै व्यक्ति तथा उनीहरुको परिवारलाई जीवन निर्वाह गर्नका लागि सहयोग पुर्याएको प्रतिक्रिया दिनुभयो । परियोजनालाई निरन्तरता दिन संस्थालाई उहाँले आग्रह गर्नुभयो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च (एस डिएफ) ले २०१६ देखि नेपालगञ्जमा युवा सशक्तिकरण बुलगारी परियोजना संचालन गरेको थियो ।

परियोजना अन्तर्गत नेपालगञ्ज क्षेत्रका बिभिन्न वडामा समस्याका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका बालबालिकालाई छात्रबृति, काम नपाएर रोजगारी वा व्यवसाय गर्ने सोंच भएका युवालाई लघु उद्यम सीप बिकास तालिम, आफ्नै उद्यम गर्नका लागि आर्थिक एव आवश्यक सामाग्री सहयोग गर्दै आएको मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो । हाल आएर यो परियोजनाको अवधि सकिएको छ । तर परियोजनाले वास्तबिक व्यक्तिलाई सहयोग गरिरहेको पाइएकाले बिहीबारको अनुगमन समिक्षामा समेत यसको निरन्तरताका लागि संचालन गर्ने संस्था तथा सहयोग सस्थालाई सहयोग गर्न आग्रह गरेको हो ।

मञ्चका अध्यक्ष चम्प सिंह थापा मगरको उपस्थितिमा भएको समिक्षामा मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, वडा नं–६ का वडा सदस्य शुरेस कुमार सोनी, वडा नं–२१ की वडा सदस्य नन्कई पठान, सेफ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, जिल्ला युवा क्लब संजालका राजन बर्मा, मञ्चका जिविकोपार्जन अधिकृत सहजराम यादव, शिक्षा अधिकृत बृजेश ठाकुर र सुपरभाईजर इन्द्रा खडकाको उपस्थिति रहेको थियो । सेफ द चिल्ड्रेनको सहयोगमा संचालित पञ्च वर्षीय परियोजना अवधिभर मंचले ३ करोड ५९ लाख १३ हजार ३ सय ८३ रुपैयाँ खर्च गरेको छ ।

Previous articleआला नगरका ९० जना जनता समाजवादी पार्टीमा प्रवेश
Next articleडा.केसीको माग पुरा गराउन बाँकेमा रिले अनसन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here