बाहिर रहेका बालबालिकालाई बिधालयमा ल्याउने अभियान शुरु

गुलरिया । संविधानले आधारभूत तह अर्थात १-८ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षा हुने व्यवस्था गरेको छ । सो अनुसार सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन समेत निर्माण गरेको छ । शिक्षा एक आधारभूत मौलिक अधिकार हो ।

प्रारम्भिक अवस्थादेखि सिकाइका अवसरहरूमार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्नेदेखि माध्यमिक शिक्षासम्म बालबालिकाका लागि शिक्षाको अधिकार सुनिश्चित गर्न शिक्षामा काम गर्न संघसस्थाहरु पनि प्रतिबद्ध छन् ।

विगत २० वर्षदेखि शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ । विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना दर बढेर ९७ प्रतिशत पुगेको छ । यद्यपी यस क्षेत्रमा नेपालले निकै चुनौतीहरूको सामना गर्न बाँकी छ । शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लिंग र आर्थिक-सामाजिक तथा जातिय भिन्नता आदि समस्याहरू शिक्षामा व्याप्त छन् ।

गरिबी, सामाजिक बहिष्करण, अपांगता, बसाई सराई, बाल श्रम, सामाजिक मुल्य मान्यताहरू तथा लैंगिक भेदभाव बालबिवाह आदिका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन सकेका छैनन् । युनिसेफको तथ्याकं अनुसार ५ देखि १२ वर्ष उमेर समूहका लाखै बालबालिका अझै विद्यालय बाहिर छन् ।

३, ५, र ८ कक्षाका आधा मात्रै विद्यार्थीहरू नेपाली र गणित विषयको शैक्षिक परीक्षामा सफल हुने गरेको तथ्याकंले देखाउँछ । विद्यालय बाहिर रहेका बालबालिकालाई समेट्नका लागि सरकारले चालू शैक्षिक सत्रको शुरुमा भर्ना अभियान सञ्चालन गरेको थियो । सो अभियानबाट धेरै बालबालिका विद्यालयको पहुँचमा आएको दाबी गरेपनि अझै विद्यालयहरुले विवरण अपडेट नगरेको कारण र सामान्यभन्दा फरक अवस्था भएका बालबालिका, अपांगता भएका र आर्थिक रूपमा निकै पछाडि परेका परिवारका बालबालिका विद्यालय बाहिर हुन सक्ने सम्भावना रहेको गेरुवा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज अधिकारी बताउँनुहुन्छ ।बर्दियामा प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूह (बी-ग्रुप) को आर्थिक साझेदारी तथा ठाकुरबाबा, बारबर्दिया, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाको समन्वय सहकार्यमा बिगत १५ महिनादेखि बाल बिवाह न्युनिकरण परियोजना संचालनमा रहेको छ ।

गेरुवा गाउँपालिकामा बिधालय बाहिर रहेका बालबालीकाहरुलाई बिधालयमा ल्याउनका लागि गेरुवाको शिक्षा तथा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकामा संचालित २६ वटा सामुदायिक बिधालयका प्रध्यानाध्यापकसंग बैठक बसी अन्तरक्रिया तथा छलफल गरिएको छ ।

उक्त बैठकमा बिधालयको क्षेत्राधिकारभित्र बिधालय नजाने ५ बर्षदेखि १८ बर्ष उमेर समूहका बालबालिकाहरुलाई ७ दिनभित्र पहिचान गर्ने र तथ्याँक संकलन गरी बिधालयमा सत प्रतिशत भर्ना गराउनका लागि बिभिन्न कार्ययोजना निमार्ण गर्ने निर्णय गरिएको बाल बिवाह न्युनिकरण परियोजना शिक्षा प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleनरैनापुर गाँउपालिका अध्यक्ष शाहलाई अन्तर्राष्ट्रिय जनसेवा सम्मान प्रदान
Next articleश्रेया दुलालको हिन्दी गीत ‘हर जगह’ सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here