
कोहलपुर । शिव शिखर सहकारीबाट प्रताडित भएका कोहलपुरका नागरिक यहाँस्थित अर्को एक सहकारीबाट प्रताडित हुँदै गएको तथ्य फेला परेको छ । बाँकेको कोहलपुरमा रहेको एक सहकारीले लामो समयदेखि बचतकर्ताहरुलाई बचत फिर्ता गर्न आलटाल गर्दै ठगीरहेको तथ्य फेला परेको हो ।
कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको रारा बिजय बहुउद्धेश्यीय सहकारी संस्थाले बिभिन्न खाले बचत र त्यसबाट प्राप्त हुने बोनसको प्रलोभन देखाएर बचतकर्ताहरुलाई ठगी गरीरहेको पाईएको छ ।
प्राप्त जानकारी अनुसार बोनस र ब्याजको प्रलोभन देखाएर सुरुमा बचत गराउने तर बचत फिर्ता गर्ने क्रममा संस्थाले बिभिन्न बहाना बनाएर बचतकर्ताहरुलाई अनावश्यक दुख दिने गरेको छ । खाता खोल्ने बेला बोनस दिने प्रलोभन देखाउने उक्त सहकारीले बचत फिर्ता लिन सहकारी पुगेका बचतकर्ताको बचतबाट १० प्रतिशतसम्म रकम काटेर दिने गरेको एक बचतकर्ताले बताए ।
संस्थाको नियम नै यस्तै रहेको भन्दै जवरजस्ती रकम काट्ने गरेको उक्त संस्थाले बचत फिर्ता गर्न भने आनाकानी गर्ने गरेको छ । सहकारीले बचतमा बोनस दिन पाउने नियम नरहेको सहकारीका जानकारहरु बताउछन । उनीहरुका अनुसार संस्थाको खुद मुनाफालाई बाँडफाँड गर्दा १८ प्रतिशत शेयर लाभांस शेयर धनिहरुले पाउने नियम रहेको भएपनि राराले बचतमा बोनस दिने कुरा हाँस्यास्पद र प्रचलित नियम कानुन बिपरीत रहेको छ ।
आफुले लामो समयदेखी सहकारीमा बचत गर्दै आएको तर चाहिएको बेला बचत फिर्ता गर्न जाँदा बिभिन्न बाहाना बनाएर फिर्ता पठाउने गरीएको कोहलपुर नगरपालिका ११ का एक ब्यापारीले बताउनुभयो । नाम नखुलाउने शर्तमा उहाँले भन्नुभयो, “सहकारीले आफ्ना बचतकर्तालाई समयमै बचत फिर्ता गर्न सकिरहेको छैन, बचत फिर्ता माग्न जाँदा कर्मचारीहरु बिभिन्न बाहाना बनाएर पन्छिने गरेका छन ।” सहकारीका कर्मचारीहरुको रबैया समेत ठिक नभएको उहाँको गुनासो छ ।
सबै बचतकर्तालाई समान नियम लागु हुनुपर्ने भएपनि सहकारीले ब्यक्तीपिच्छे फरक फरक नियम लगाउने गरेको उनको भनाई छ । अध्यक्षदेखि लेखापालसम्म एउटै परिवारको कब्जामा रहेको उक्त सहकारीमा ब्यापक रुपमा परिवारबाद हाबी भएको भन्दै उहाँले आफु निकटका ब्यक्तिहरुका लागि अलग नियम लगाउने सहकारीले अन्य बचतकर्ताहरुबाट भने बिभिन्न बाहनामा चर्को असुली गरीरहेको दाबी गर्नुभयो ।
प्राप्त एक भिडियोमा एक बयोवृद्ध महिलाले सहकारीले आफुलाई दिनुसम्म दुःख दिएको भन्दै पिडा पोख्नुभएको छ । बृद्धभत्ताको रकम जम्मा गरेर सहकारीमा नातीनी र आफ्नो नाममा मासिक बचत गर्दै आएकी कोहलपुर ११ की मैनादेबी पौडेलले बचत फिर्ता माग्दा १० प्रतिशत रकम काटेर मात्र दिने भन्दै कर्मचारीले दुःख दिएको गुनासो गर्नुभयो ।
बचत गर्ने बेला बोनस दिने भनेपनि अहिले आएर उल्टै बचत गरेको रकमबाट १० प्रतिशत काट्न खोजेको भन्दै पौडेलले आक्रोश ब्यक्त गर्नुभयो । बृद्ध अवस्थामा दैनिकजसो सहकारी धाउँदा समेत सहकारीले बचत फिर्ता नदिएको भन्दै उहाँले न्यायका लागि आग्रह समेत गर्नुभएको छ ।
“२ पैसा होला भनेर रारामा बचत गरेको सुरुमा बोनस पनि पाईन्छ, ब्याज पनि बढि पाईन्छ भने” पौडेलले भन्नुभयो, “अहिले समस्या परेर निकाल्न खोजेको, बोनस दिने भनिएको रकम समेत बचतबाट काटेर दुई खाताको ५र५ प्रतिशतका दरले थप रकम काटेर दिन्छु भनेपछि मेरो चित्त बुझेन ।”
माघदेखि बचत फिर्ताका लागि लगातार सहकारी धाउँदा समेत सहकारीले कुनै सुनुवाई नगरेपछि बाध्य भएर मिडियामा आउनुपरेको पौडेलको भनाई छ । शुरुमा खाता खोल्दा आफुले १ वर्षपछि झिक्न मिल्ने गरि खाता खोल्न आग्रह गरेपनि सहकारीका कर्मचारीले अनेक लालच देखाई बिभिन्न कागजमा सहि छाप गर्न लगाएर अहिले ३ वर्षे हो भन्दै हर्जाना लिन खोजेको पौडेलको आरोप छ ।
“सहकारीको नियम परिवर्तन भएको भन्छन, साधारण सभाले पास नगर्दै कसरी नयाँ नयाँ नियम बन्छन ? अरु थाहा छैन मेरो पैंसो चाहियो” समाचारदातासँगको भेटमा पौडेलले भन्नुभयो ।
युवा स्वरोजगार कोषको पैसा १८ प्रतिशतसम्ममा लगानी
सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम समेत हिनामिना गरेको पाईएको छ । यसअघि स्वरोजगार कोषको रकम हिनामिना गरेको भन्दै सहकारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर नक्कली ऋणी खडा गरेर अख्तियारलाई समेत गुमराहमा पार्न सहकारी सफल भएको स्रोतले जनाएको छ ।
सहकारीले युवा स्वरोजगारबाट प्राप्त रकम १८ प्रतिशतसम्म ब्याजमा लगानी गरेको पाईएको छ । जबकी युवा स्वरोजगारको निति अनुसार १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने प्रावधान रहेको छ । सरकारी मापदण्ड बिपरीत ब्याज असुलेको सहकारीले कतिपय बचतकर्ताको नाममा नक्कली ऋणी खडा गरेर समेत आर्थिक चलखेल गरेको विश्वस्त स्रोतको दावी छ ।
बचतकर्ताको रकमले जग्गा खरीद
आर्थिक रुपमा भित्रभित्रै खोक्रो हुँदै गएको रारा बिजय सहकारीले आफ्ना बचतकर्तालाई समयमै बचत फिर्ता गर्न त सकिरहेको छैन । तर सहकारीको नाममा विभिन्न अनावश्यक क्षेत्रमा भने लगानी गरीरहेको छ । भित्रभित्रै आर्थिक रुपमा धारासायी हुँदै गईरहेको सहकारीले कोहलपुर ११ साझा चोक नजिकै जग्गा खरीदका नाममा ठुलो रकम खर्च गरेको सहकारीकै कर्मचारीहरु बताउँछन ।
“यहाँ दिनहुँ आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न सकिएको छैन, तर सहकारीले जग्गामा लगानी गरीरहेको छ” नाम उल्लेख नगर्ने शर्तमा सहकारीमै काम गर्ने एक जना कर्मचारीले भने, “संचालक समिति र ब्यवस्थापक अनेक बहाना गरेर पन्छिनुहुन्छ, बचतकर्ताको निशानामा हामी परीरहेका छौं ।” यस सम्बन्धमा सहकारीका अध्यक्ष बसन्ती सिंह ठकुरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । काँचुलीखबरबाट साभार





