बिद्युत समस्या समाधानार्थ उपमहानगरपालिकाको चासो

नेपालगञ्ज । अनियमित बिद्युत र लो-भोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले बिद्युत प्राधिकरणसंग छलफल गरेको छ ।

नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलसंग जानकारी लिनुभएको छ ।

छलफलमा नगर प्रमुख विष्टले अत्याधिक गर्मी हुने सहर नेपालगञ्जमा पछिल्ला दिनमा बिद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याको कारण, उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र बिद्युत प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

नेपालगञ्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले ‘बिद्युतको नियमितता’ सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरबासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताउनुभयो ।

पत्रकारहरुको उपस्थितिका बीच आयोजित छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको भन्दै शनिबारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने बताउनुभयो ।

“शनिवारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं,” उहाँले भन्नुभयो–“बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।”

Previous articleविश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
Next articleपिकनिकमा गएका दुई किशोरीको राप्तीमा डुबेर मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here