बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर : ५ सय ३ जना लाभान्वित

नेपालगन्ज । डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १ सय १७ जना महिला ३ सय ८६ जना पुरुष सहित ५ सय ३ जना लाभान्वित भएका छन् ।

शनिवार आसमानपुर स्थित जयन्दू बाल सुधार गृह परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट सुधार गृहका कानूनको विवादमा परेका बालक, कर्मचारी, सुरक्षाकर्मीका साथै आसपासका स्थानीय ग्रामीण समुदायका ५ सय ३ जना सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा जयन्दू बाल सुधार गृहको समन्वयमा सम्पन्न उक्त शिविरमा ७१ जना महिला र २ सय ५५ जना पुरुष सहित ३ सय २६ जनाको जनरल तर्फ स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा परिक्षण तर्फ महिला ४६ जना र १३१ जना पुरुष समेत १ यस ७७ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।

उक्त शिविरमा सबभन्दा बढी उमेर ८० वर्षको पुरुष भुलई पासी र ७५ वर्षको महिला सोनापति पासी र मनिर सिंह ठकुरीले पनि स्वास्थ्य परिक्षण र आँखा परिक्षण गराएकी थिए । शिविरमा कम उमेर १० महिनाकी मोहिनी कोरी र २ वर्षको निश्चल बृजवासीले स्वास्थ्य परिक्षण गराएका थिए भने बाल सुधार गृहका अधिकाँश १३ देखि २४ वर्षका कानूनको विवादमा परेका बालकहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

उक्त शिविर अवधिभर जयन्दू बाल सुधार गृहका जग्गादाता जय किसन सिंह, इञ्चार्ज विमला काउचा मगर, सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक भाष्कर गिरी, सुधार गृहका बालकहरु लगायतको सक्रिय सहयोग र सहभागिता रहेको थियो ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. हर्षित पाठक, डा. राहुल डेमगौरा र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने स्टाफ नर्सहरु सुश्री स्मारिका श्रेष्ठ र सुश्री सञ्जु लामाले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।

त्यसैगरि पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक धिरेन्द्र शाही, सामुदायिक स्वास्थ्य केन्द्रका इञ्चार्ज रमण कुमार शर्मा, स्वास्थ्य सहायक राजेन्द्र कुमार वर्मा, निखिल जायसवाल, निमा थारु, अञ्जना गुरुङ, दिलमाया वि.क., जया रेग्मी लगायतले सहयोग गर्नुभएको थियो ।

शिविरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले सुधार गृहमा आश्रित बालकहरुको आकस्मिक स्वास्थ्य समस्याको समाधानका लागि केन्द्रको तर्फबाट जयन्दू बाल सुधार गृहका जग्गादाता जय किसन सिंह, इञ्चार्ज विमला काउचा मगरलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो ।

उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करीब २५ थरी आौषधिहरु उपलब्ध गरिएको छ । जयन्दू बाल सुधार गृहका जग्गादाता जय किसन सिंहले सुधार गृहका बालक लगायत ग्रामीण समुदायमा विरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गर्नु भयो ।

सो इञ्चार्ज विमला काउचा मगर र सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक भाष्कर गिरीले निःशुल्क स्वास्थ्य शिविरको लागि धन्यवाद दिंदै खानेपानी, बत्ती जस्ता अति आवश्यक सहयोगको लागि पहल गर्न आयोजक संस्थालाई आग्रह गर्नु भयो ।

Previous articleबिद्यार्थीको सिकाईस्तर समान बनाउन उपचारात्मक कक्षा, मधुवनमा अभिमुखिकरण
Next articleबुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here