
बाँके । ट्राफिक व्यवस्थापनका लागि जिल्लामा ´एक दिन एक अभियान` संचालन गरिने भएकाे छ ।
जिल्लामा देखिएको ट्राफिक व्यवस्थापनकाे समस्यालाई न्युनिकरण गर्न प्रहरीले ´एक दिन एक अभियान` संचालन गर्न लागेकाे जनाएको छ ।
नेपालगन्जमा रहेका पत्रकारसंग भेटघाट गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले दैनिक रूपमा एक प्रकारकाे कार्यक्रम संचालन गरिने जानकारी दिनुभयाे ।
उहाँका अनुसार मापसे, ओभरलाेड, माेडिफाई, चाेरी माेटरसाईकल खाेज्ने जस्ता दैनिक रूपमा एक अभियान संचालन गरिनेछ ।
यस प्रकारकाे अभियान जिल्लाभरी एकै दिन, एकै समयमा विभिन्न ठाउँहरूमा संचालन हुने र यसका लागि १३ वटा प्रहरी युनिट परिचालन गरिनेछ ।
यस्तै गुलरिया बसपार्कबाट छुट्ने सवारीसाधनहरूलाई नेपालगन्ज बसपार्कबाट छुट्ने र शहरभित्र राेक्न नपाईने गरि व्यवस्थापन गरिने तयारी गरिएकाे प्रहरीले जनाएको छ । त्यसका लागि बस व्यवसायीसंग दुई चरणमा छलफल भएकाे ट्राफिक प्रमुख भण्डारीले बताउनुभयाे ।





