
नरैनापुर । स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ ।
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर-५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिनुभयो ।
मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढाको अध्यक्षतामा सम्पन्न भएको शिबिरमा शुक्रबार नरैनापुर वड़ा नं-५ मटेहियाका एक सय ५४ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको बताउनुभएको थियो ।
शिविरमा परीक्षण गरिएकामध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत दुर्गा गौतमले बताउनुभयो । यस्तै शिविरमा भिआईए (दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिएको मटेहिया स्वास्थ्य चौकीका सि.अनमी निर्मला बोहराले बताउनुभयो ।





