भारतमा बिभिन्न क्षेत्रमा बाढी-पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन् । राजधानी नयाँदिल्ली आइतबार सन् १९८२ पछि जुलाई महिनामा २४ घन्टाभित्र सबैभन्दा धेरै पानी पारेको छ ।

अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन् । भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ ।

उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ । उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ ।

सामाजिक सञ्जालहरूमा बाढी र पहिरो बस्तीमा पसेका, सडक र पुल बगाएका भिडिओहरू आइरहेका छन् । तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

दिल्लीमा यमुना नदीले मंगलबार बिहानसम्म खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ । भारतीय मौसमविद्हरूले अहिलेको अवस्था सन् २०१३ मा उत्तराखण्डमा भएको ‘क्लाउडब्रस्ट’सँग तुलना गरेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार बंगालको खाडीबाट आएको मनसुनी वायु र अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावले उत्तर पश्चिम भारतमा अहिले मुसलधारे वर्षा भएको हो ।

Previous articleकोहलपुरलाई हरित शहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री चाैधरी
Next articleमेरो त्यो रेडियोको यात्रा……!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here