जनक सिंह भाट, बैतडी । सुन्दर सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएको म । मेरो बालापन बैतडीकै सुन्दर गाउँ श्रीकोटमा बित्यो । सानोमा हजुरबुबा, हजुरआमा, बाबा र आमासँग बसेकाले होला म रेडियोतिर निकै आकर्षित थिएँ ।
उहाँहरू धेरै रेडियो सुन्नुहुन्थ्यो । म त्यही हुन्थेँ, रेडियो सुन्दा मनमा विभिन्न प्रश्नहरू आउँथे । यति सानो डब्बाभित्र कसरी मान्छे अटाएको होला भनेर जान्न मन लाग्थ्यो । के म पनि यसरी नै बोल्न सकुँला र भन्ने विचार आउँथे ।
अरूको घरमा टिभी र स्मार्ट फोनको प्रयोग हुन्थ्यो । तर मेरो परिवार अरूको भन्दा आर्थिक अवस्था कमजोर भएर होला रेडियो र टिकटिके फोन प्रयोग गर्थ्यौं । त्यही अवस्थाले मलाई आज यहाँसम्म पुर्यायो । घरमा पनि स्मार्ट फोन र टिभी भइ दिएको भए कहिले पनि रेडियो सुन्दैनथेँ होला ।
समय बित्दै गयो । म ६ कक्षामा पुगेँ । त्यसपछि बुबाले मेरो पढाइ राम्रो होला भनेर आफू कार्यरत विद्यालयमा लग्नुभयो । त्यसपछि दोगडाकेदर गाउँपालिकास्थित सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न प्रेरित गर्नुभयो । जन्मभूमी जिल्लामै बसेर बाँकी अध्ययन सुरू भयो ।
सानैबाट मलाई अतिरिक्त क्रियाकलापहरू गर्न मन लाग्थ्यो । सधैंजसो नयाँ कुरा सिक्न आतुर हुन्थेँ । समय बित्दै गयो । मैले १२ कक्षाको परीक्षा दिएँ । रिजल्ट आउन तीन महिना लाग्थ्यो । त्यो अवधिमा घरमा बाख्रा चराउन जान्थे त कहिले समय बिताउन रेडियो सुन्थेँ ।
रेडियोमा सबैभन्दा बढी साहित्य विधाका कार्यक्रमहरू मन पर्छ । स्थानीय रेडियोमा भएर होला कार्यक्रममा सहभागी हुने श्रोताहरू सबै चिनेका हुन्थे । म पनि मन लागेको बेला कार्यक्रममा सहभागी जनाउथेँ । मैले बिस्तारै बैतडी र छिमेकी जिल्ला दार्चुलाका सबै रेडियो कार्यक्रममा सहभागी हुन थालेँ ।
दुई साताभित्रै सबै रेडियोको नियमित श्रोता बन्न पुगेँ । बिस्तारै कार्यक्रममा सहभागीहरूले समेत मलाई चिन्न थाले । एकदिनको कुरा हो म रेडियो सुनिरहेको थिएँ । एक अपरिचित व्यक्तिको फोन आयो । फोन उठाएँ एकजना केटीको आवाज आयो ।
म हजुरले कार्यक्रममा फोन गर्दा एकदमै धेरै खुशी हुन्छु र सुन्ने गर्छु, अनि म पनि कार्यक्रममा सहभागी हुन्छु, भनेर भनेपछि मलाई पनि खुशी लाग्यो । ती केटीसँग दिनदिनै कुरा हुन थाल्यो । बिस्तारै विश्वास पनि गर्न थाल्यौं ।
एकदिन उसले हजुर रेडियोमा काम गर्ने मान्छे भएको भए म कति सुन्थें हजुरलाई, आहा ! हजुरको आवाज कति राम्रो छ । मेरो लागि भए पनि हजुर रेडियो क्षेत्रमा काम गर्नु न भनेर भनिन् ।
मलाई पनि रेडियोमा बोल्न मन थियो तर अब उसले यति भनेपछि प्रयास गर्नुपर्ला भन्ने लाग्यो । मेरो मन पनि परिक्षाको नतिजा नआएसम्म के गर्ने भन्ने दोधारमा थिएँ । त्यसपछि रेडियोमा काम गर्ने सोंच आयो ।
त्यसैबेला बैतडी जिल्लामा नयाँ रेडियो खुलेको थियो । नयाँ रेडियोको लागि दुईजना कर्मचारी आवश्यकता थियो । त्यसमा म लगायत अन्य नौ जनाले पनि फारम भरेका थिए ।
हाम्रो अन्तर्वार्ता भयो र मेरो नाम पनि निस्कियो । त्यसबखत म एकदमै खुशी थिए किनकी एउटा केटीले गर्दा म आज यहाँसम्म आइपुगेको थिएँ । परिवारले ‘त्यो फिल्ड तिम्रो लागि ठिक छैन’ भनी विरोध गर्दा पनि पत्रकारिताको यात्रा त्यसरी तय गरेँ ।
आफू सही भए कसले के गर्छ भनेर स्थानीय ‘रेडियो निङ्ग्लाशैनी’ बाट काम सिक्ने अवसर पाएँ । यो तीन वर्षअघिको कुरा हो । त्यही क्रममा बिस्तारै पत्रकारिताको परिभाषा बुझेँ ।
पत्रकारिताको उपलब्धिबारे थाहा पाएपछि त झनै आकर्षित भएँ । अनि यसैलाई पेशा बनाउन आकर्षित भएँ । नेपाली टाइपिङदेखि समाचार लेखन, स्टोरी तथा आर्टिकल लेख्न सिकेँ ।
करिब साढे ३ महिनासम्म रेडियो निङ्ग्लाशैनीमा काम गरेपछि मलाई दार्चुलाको रेडियो चौलानी टुडेमा काम गर्ने अवसर प्राप्त भयो । मैले रेडियो चौलानी टुडेमा साहित्य विधाको कार्यक्रम चलाएँ ।
जुन केटीको कारण म रेडियोमा आएको थिएँ त्यो केटी पनि कार्यक्रममा सहभागी हुन्थीन । त्यो केटीले मलाई धेरै विश्वास गर्न थालिन । करिब छ महिना रेडियो चौलानी टुडेमा काम गरेपछि मैले कैलालीको रेडियो धनगढीमा काम गर्ने अवसर पाएँ र चौलानी छोडेर रेडियो धनगढीमा पुगेँ ।
जब म धनगढी रेडियोमा गएँ । त्यो केटी मसँग बोल्नै छोडी । कारण थियो तिम्रो त केटीहरू धेरै होलान्, धनगढी पुग्ने मान्छेको केटी नहुने त कुरै भएन, भनेर बोल्नै छाडेकी थिइन ।
ऊ बोल्न छोडेको केही दिन त अप्ठ्यारो भयो । मलाई यो क्षेत्र र यहाँसम्म पुर्याउने मुख्य हात रहेको उक्त केटी मसँग बोल्नै छोड्नु गलत हो भने । तर रहर होइन बाध्यता हो भने जस्तै गरी बिस्तारै त्यो केटीलाई भुल्दै गएँ ।
रेडियो धनगढीमा काम गरेको दुई महिना हुँदै गर्दा मलाई पुनः पहिला काम गरेकै दार्चुलाको रेडियो चौलानी टुडेमा थप विशेष सेवा सुविधाका साथ काम गर्न बोलाइयो ।
म पुनः रेडियो चौलानीमा पुगेँ । त्यही समय घरमा हजुरबा बित्नु भयो । त्यसपछि म केही महिना घर बस्न बाध्य भएँ । मिडिया क्षेत्रमा धेरै बिदा नपाइने हुँदा अर्को मिडिया रोज्न बाध्य भएँ । म अहिले कञ्चनपुरको रेडियो बेलौरीमा कार्यरत छु ।
मलाई यहाँसम्म पुर्याउन विशेष उत्प्ररणा प्रदान गर्ने ती अपरिचित केटी साथीलाई जो परिचित कहिले बनिन उसलाई उनलाई हृदयदेखि नै नमन गर्न चाहन्छु । संचार क्षेत्रमा मेरो यात्रा तय गराउने ती अपरिचितलाई कहिल्यै भुल्ने छैन् । धन्यवाद्