
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको आथित्यतामा हस्तान्तरण गरिएको छ ।
मधुवन वडा नं-७, दशरथवस्तीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा साे भवन भेरी वातावरणीय बिशिष्टता समुह (बि-ग्रुप) बाँकेले निर्माण गरेर हस्तान्तरण गरेको हो ।
प्लान इन्टरनेशनल नेपाल, बि-ग्रुप बाँकेको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा, युवा खेलकुद शाखाको समन्वय, सहयोगमा बाल विवाह न्युनिकरण परियोजनामार्फत पक्की शौचालय भवन निर्माण गरिएको हाे ।
विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय भवन ११ लाख ९७ हजार, ४ सय ५७ रुपैयाँको लागतमा २०७८ साल पौष २१ गतेदेखि निर्माण कार्य सुरु भई २०७९ साल फागुन २९ गते निर्माण सम्पन्न भएपछि शौचालय भवन सम्बन्धित विद्यालयलाई हस्तान्तरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, बिद्यालयमा नियमितता, महिनावारी भएको अवस्थामा बिद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धीमा वृद्दि भएको पाउनुका साथै बिद्यालयमा बालबालीकाहरु नियमित भइरहने र बालिकाहरु बालबिवाहबाट पर्न सक्ने जोखिम न्युनिकरण हुने अपेक्षा बक्ताहरुले आफनो भनाइ राख्नुभएको थियो ।
बिगत १ बर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिकामा प्लान इन्टरनेशनल नेपाल तथा बि-ग्रुपको साझेदारीमा परियोजना संचालन भएका स्थानीय तहसँगको समन्वयमा बालविवाह न्युनिकरण परियोजनामार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा, बालबिवाह जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण र बिद्यालयस्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा संस्थाले पैरवी गर्दै आएको छ ।





