‘रोजगारीका नाममा झुक्याएर मानव बेचबिखन हुँदै’

नेपालगञ्ज । कुनै समय भारतको कोठीमा लगेर बेच्नुलाई चेलीबेटी बेचबिखन भनिन्थ्यो । तर अब बेचबिखनको गन्तव्य भारत मात्र नभएर खाडी मुलुकहरू पनि बनिरहेका छन् ।

हिजो गाउँका सोझा, अशिक्षित र आर्थिक स्थिति कमजोर भएका महिलालाई झुक्याएर कोठीहरूमा लगेर बेचिन्थ्यो भने अहिले वैदेशिक रोजगारीका नाममा उनीहरूलाई झुक्याएर मानव बेचबिखनको काम भइरहेको छ ।

दलालहरूले विभिन्न प्रलोभनमा पारेर कुवेत, ओमन, यूएई, कतार, साउदी अरेबिया जस्ता देशहरूमा घरेलु कामदारमा पठाइरहेका छन् । तस्कर, दलालहरू वैदेशिक रोजगारको आवरणमा खुल्लमखुला भारतको बाटो हुँदै खाडी मुलुकहरूमा बेचबिखन गर्ने काममा सक्रिय छन् । लुम्बिनी प्रदेशमा मानव बेचबिखनको जोखिम सबैभन्दा धेरै बाँके, दाङ र बर्दियामा छ ।

दलालहरू एजेन्टका नाममा गाउँ गाउँमा आर्थिक रूपमा कमजोर, एकल, सोझा महिलालाई राम्रो कमाइ हुने, पैसा नलाग्ने भनेर प्रलोभनमा पार्छन् । महिलाको निरक्षर र गरिबीको फाइदा उठाएर झुक्याएर विदेश जान तयार गराउँछन् ।

जबकि ती महिलालाई आफू अवैध रूपमा जाँदैछु भन्ने पनि थाहा हुँदैन । वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विभिन्न सपना देखाइएको हुन्छ तर उनीहरूलाई ‘आफूलाई कहाँ, कसले कसरी लैजाँदैछ’ भन्ने समेत थाहा हुँदैन । यसको जोखिम बारेमा कुनै जानकारी हुँदैन ।

नेपाल भारत बीचको खुला सीमाले तस्करहरूलाई वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी गर्न सजिलो भएको छ । खुला सीमा भएकाले राहदानी पनि नचाहिने र सजिलै ओहोरदोहोर गर्न सकिने भएकाले तस्करहरू भारतलाई ‘ट्रान्जिट पोइन्ट’ बनाएर विभिन्न मुलुकमा महिलालाई बेचबिखन गरिरहेका छन् ।

तर, सीमाका मुख्य नाकाहरूमा माइती नेपाल, प्रहरी र अन्य संघ-संस्था भएको हुँदा दलालहरू अनेक जुक्ति लगाएर महिला तथा किशोरीहरूलाई सीमा पार गराउँछन् । कतिपय अवस्थामा हामीलाई पनि पत्ता लगाउन मुश्किल पर्छ । नाकामा प्रहरीले सोधपुछ गर्दा घुम्न जान लागेको, उपचार गर्न, आफन्त भेट्न, सामान किन्न जान लागेको भनेर सिकाइएको हुन्छ ।

कतिपय अवस्थामा श्रीमान् श्रीमती र बाबु छोरी नै सँगै लिएर सीमा पार गराउँछन् । कतिपयलाई चाहिं मुख्य नाका बाहेक चोरी नाकाहरूबाट पनि पारि पुर्‍याइन्छ । कहिलेकाहीं रातिको समयमा पनि सीमा पार गराइन्छ । सीमा पार गरेर पछि दिल्ली वा मुम्बई पुर्‍याएर राखिन्छ । त्यहींबाट दुबई हुँदै खाडी मुलुकमा घरेलु कामदारका रूपमा वा यौन धन्दाका लागि पठाइन्छ ।

कति चाहिं शंका लागेर सोधपुछ गर्दा सीमामा समातिन्छन् । त्यसरी सीमाबाट उद्धार गरिएकाहरूलाई आफूहरू दलालको फन्दामा परेको, कहाँ, केका लागि जाँदैछु भन्ने पनि थाहा हुँदैन । पछिल्लो तीन वर्षमा नेपालगञ्जको जमुनाहा नाकाबाट दलालको फन्दामा परेर जोखिमपूर्ण यात्रा गर्न लागेका १ हजार ५१३ जनालाई उद्धार गरिएको छ ।

यो संख्या हरेक वर्ष बढ्दो देखिन्छ । त्यसरी दलालको फन्दामा परेर जान लागेकाहरूलाई सोधपुछ र सम्झाई–बुझाई पछि परिवारको जिम्मा लगाउने काम हामी गरिरहेका छौं ।

अवैध रूपमा खाडी मुलुक तथा भारत पुर्‍याएकाहरूलाई खोजतलास गर्न तथा उद्धारका लागि भनेर हामीकहाँ निवेदनहरू पनि आउँछन् । तीन वर्ष (२०७७-२०७९) मा माइती नेपाल नेपालगञ्ज शाखामा भारत तथा विभिन्न मुलुकमा पुर्‍याएका महिला तथा किशोरीहरूको खोजतलासका लागि १ हजार ६८४ निवेदन परेका थिए । त्यसमा ६७५ जना मात्रै फेला परे । बाँकी कहाँ छन्, थाहै छैन ।

अवैध रूपमा खाडी पुर्‍याइएका महिलाहरू अधिकांश घरेलु श्रम तथा यौन शोषणमा पर्ने गरेका छन् । कपितय महिलाको मृत्यु भएको, कति अंगभंग भएका, बेपत्ता पारिएका र यौन हिंसामा परेका घटना छन् । त्यसमा पनि यौन शोषणका घटना बढी देखिन्छन् ।

भारतका कोठीमा र खाडी मुलुकहरूमा घरेलु कामदारमा धेरै यौन शोषणमा परेको भेटिन्छ । कतिपय भने महिलाहरू बच्चा च्यापेर फर्किएका र कति भने अरबीहरूलाई बच्चा जन्माइदिएर आफू खाली आएका घटना समेत छन् ।

यसमा के छ भने महिलाहरू यौन शोषणमा परे पनि त्यसबारे खुलेर बोल्न चाहँदैनन् । परिवार र समाजको तिरस्कारको डरले आफू हिंसामा परे पनि उनीहरू घटना लुकाएर बस्छन् । उनीहरू मुद्दा–मामिलामा पनि जाँदैनन् । त्यसकारण पनि मानव बेचबिखनका घटना धेरै भए पनि मुद्दा दर्ता चाहिं थोरै हुने गर्छन् ।

घटनाक्रमले के देखाउँछन् भने मानव तस्करीको जालो गाउँगाउँसम्म पुगेको छ । तस्करहरूले पैसाको प्रलोभनमा पारेर एजेन्टहरूलाई सक्रिय बनाएका छन् । उनीहरू नै मानव तस्करको सहयोगीको रूपमा काम गरिरहेका छन् । म्यानपावर कम्पनीका कतिपय एजेन्टहरू पनि यस्ता कार्यमा संलग्न छन् । तर यति हुँदा पनि मुख्य दलालहरू बाहिर चिनिंदैनन् ।

(मानव बेचबिखनविरुद्ध लामो समयदेखि काम गरिरहेको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालासँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

Previous articleनेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुला
Next articleनरैनापुर गाँउपालिकाबाटै श्रम स्वीकृति शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here